धनगढी । कैलालीमा च्याउ टिप्न जंगल गएका दुई महिलामाथि प्रकृतिले बज्रपात गरेको छ। शुक्रबार बिहान एक्कासी आएको बाढीले दुवैलाई बगाउँदा एक जनाको ज्यान गएको छ भने अर्की महिला अझै बेपत्ता छिन्। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी खोज तथा उद्धारमा जुटेका छन्।
कैलालीको गोदावरी नदीमा आएको आकस्मिक बाढीले दुई महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्की महिलाको अवस्था अझै अज्ञात रहेको छ।
शुक्रबार बिहान गोदावरी नगरपालिका क्षेत्रमा च्याउ टिप्न गएका ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउद नदीमा आएको बाढीमा परेका थिए। बाढीले बगाएकी महेश्वरी धमलाको शव घटनास्थल नजिकै आर्यघाट क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ। यता कल्पना साउद भने अझै सम्पर्कविहीन छिन्। उनको खोजीका लागि प्रहरी र स्थानीयवासीले नदी आसपासका क्षेत्रमा खोज अभियान जारी राखेका छन्।
प्रहरीका अनुसार बिहान करिब पौने सात बजे नदीमा अचानक पानीको बहाव बढेपछि दुई महिला बगेको देखिएको भन्दै स्थानीय शिव मन्दिरका पुजारीले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा जोखिम बढ्दै गएको भन्दै प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। गोदावरी क्षेत्रमा अहिले पनि खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।





































