काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई सुशासन, आध्यात्मिक पुनर्जागरण र पारदर्शी व्यवस्थापनको केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै नयाँ विस्तृत प्रस्ताव सार्वजनिक गरिएको छ ।

कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाई ले पशुपति क्षेत्र विकास कोषलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त, पारदर्शी र धार्मिक अनुशासनमा आधारित संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने भन्दै व्यापक सुधारको खाका अघि सारेका हुन् ।IMG_20260609_175334उनका अनुसार पशुपति क्षेत्र केवल धार्मिक स्थल मात्र नभई राष्ट्रको नैतिक चेतना, सदाचार अभियान र आध्यात्मिक शक्ति केन्द्र भएकाले यसको व्यवस्थापन पनि पूर्ण रूपमा धर्म, सेवा र पारदर्शितामा आधारित हुनुपर्छ ।

सदाचार अभियान पशुपतिबाटै सुरु गर्ने प्रस्ताव :
हुमागाईले पशुपतिनाथ परिसरबाट नै देशव्यापी सदाचार अभियान सुरु गर्न सकिने दाबी गरेका छन् । राज्यका उच्च पदाधिकारी, प्रशासनिक संयन्त्र र नागरिक नेतृत्वलाई एउटै स्थानमा धार्मिक संकल्प र शपथमार्फत नैतिक जिम्मेवारीबोध गराउने अवधारणा उनले प्रस्तुत गरेका छन् ।

उनले पशुपति क्षेत्रबाट संकलित भेटी, दान तथा शिवस्वलाई कुनै पनि अवस्थामा व्यक्तिगत लाभका लागि प्रयोग गर्न नहुने स्पष्ट धारणा राखेका छन् ।

पूजा व्यवस्थामा व्यापक सुधारको प्रस्ताव :
उनले पशुपति क्षेत्रका सबै मन्दिर, पीठ तथा देवस्थलहरूमा नित्य पूजा, पर्व पूजा र विशेष अनुष्ठानलाई वैदिक विधिअनुसार व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

बासुकीनाथ, गुह्येश्वरी, भुवनेश्वरी, विश्वरूपा लगायत सम्पूर्ण देवस्थलमा नियमित पूजा व्यवस्था, शिवलिङ्गमा जल–पञ्चामृत–बेलपत्र अर्पण, तथा पूजा सामग्रीको शुद्धता परीक्षण प्रणाली लागू गर्ने प्रस्ताव समेत अघि सारिएको छ ।

त्यसैगरी बागमती नदीलाई गङ्गा स्वरूप मानी यसको शुद्धता कायम राख्न सुन्दरीजलबाट स्वच्छ जल आपूर्ति प्रणाली सुनिश्चित गर्नुपर्ने उनको धारणा छ ।

भक्तजनका लागि नयाँ दर्शन प्रणाली :
हुमागाईले दर्शन व्यवस्थालाई भेदभावरहित, व्यवस्थित र भक्तजनमैत्री बनाउन डिजिटल तथा परिचयपत्र आधारित प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार नित्य दर्शनार्थी परिचयपत्र, विदेशी भक्तजनका लागि परम्परागत शुद्धिकरण प्रक्रिया, तथा भक्तजनलाई सम्मानजनक लाइन व्यवस्थापन प्रणाली लागू गर्न सकिन्छ ।

आर्थिक सुधार र पारदर्शिताको दाबी :
उनले पशुपति क्षेत्र विकास कोषलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित भेटी, दान र आर्थिक कारोबारलाई पूर्ण डिजिटल र पारदर्शी प्रणालीमा लैजानुपर्ने बताएका छन् ।

धर्मशाला, पसल तथा अन्य संरचनाहरूलाई प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत व्यवस्थापन गरिने तथा अनियमित आर्थिक गतिविधि पूर्ण रूपमा नियन्त्रण गरिने योजना समेत प्रस्तुत गरिएको छ ।

नेतृत्वबारे कडा सन्देश :
हुमागाईले आफूले कोषको सदस्य–सचिव पदका लागि आवेदन दिएको जानकारी दिँदै अवसर पाए कुनै पनि सरकारी सुविधा, तलब वा भत्ता नलिने प्रतिबद्धता जनाएका छन् । उनका अनुसार सम्पूर्ण भेटी र शिवस्व केवल धर्म, सेवा र सामाजिक कल्याणका लागि मात्र प्रयोग गरिनेछ ।

अन्तर्राष्ट्रिय धार्मिक विस्तार योजना :
उनले पशुपतिनाथलाई विश्व हिन्दू तीर्थका रूपमा स्थापित गर्न विश्वभरका भक्त समुदाय, गैरआवासीय नेपाली र धार्मिक संस्थासँग समन्वय आवश्यक रहेको बताएका छन् ।

अनलाइन पूजा, दर्शन तथा भेटी समर्पण प्रणाली विस्तार गर्दै नेपाललाई विश्व धार्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने योजना पनि उनले अघि सारेका छन् ।

अन्त्यमा ठूलो दाबी :
अन्त्यमा उनले यदि सक्षम, योग्य र निष्ठावान नेतृत्व उपलब्ध नभए आफूलाई अवसर दिन आग्रह गर्दै आफ्ना संकल्प र प्रतिबद्धता पुनः सार्वजनिक गरेका छन् ।