विराटनगर । झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् ।
झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।




































