सिरहा । परीक्षाका क्रममा जफत गरिएका सयौं मोबाइल फोन र स्मार्ट घडी प्रशासनले नष्ट गरेपछि सिरहामा विद्यार्थी संगठनहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त विद्यार्थी संगठनहरूले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्ने घोषणा गर्दै प्रभावित विद्यार्थीलाई क्षतिपूर्ति दिन माग गरेका छन्। उनीहरूले प्रशासनको निर्णयलाई एकपक्षीय र विद्यार्थीमाथिको अन्यायपूर्ण व्यवहारको संज्ञा दिएका छन्।
प्रदर्शनमार्फत जफत गरिएका मोबाइलको उचित क्षतिपूर्ति, विद्यार्थीमाथि भएको व्यवहारको छानबिन तथा पीडितलाई न्यायको माग उठाइने जनाइएको छ। प्रशासनले भने एसईई र कक्षा–१२ को परीक्षाको मर्यादा कायम राख्न बरामद गरिएका करिब ५०० मोबाइल र स्मार्ट घडी नष्ट गरिएको बताएको छ। ती उपकरणहरूको अनुमानित मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख गरिएको छ।
मोबाइल नष्ट गर्ने प्रशासनको निर्णय कानुनी र नैतिक रूपमा उचित थियो कि थिएन भन्ने विषयमा बहस चर्किंदै जाँदा सिरहामा विद्यार्थी आन्दोलन थप तातेको छ।






































