विराटनगर । झापा, सुनसरी र उदयपुर जिल्लाहरुको विभिन्न स्थानहरूबाट लागू औषध सहित ९ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ मंगलबारे बजार स्थितबाट कनकाई नगरपालिका–३ चारआलीका ३२ वर्षीय रमेश मुसहर ऋषिदेवलाई १० ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–८ क्याम्पसमोड स्थितबाट सोही स्थानका १८ वर्षीय सुवास राजवंशीलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट १ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यस्तै सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरी टोलीले लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इटहरी उपमहानगरपालिका–५ तुलसा टोल स्थितबाट भोजपुर पौवादुम्मा गाउँपालिका–१ घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने २५ वर्षीय बसन्त खत्रिको कोठामा चेकजाँच गर्ने क्रममा १ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ ।
यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवा धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१६ स्थितबाट सोही स्थानका ३३ वर्षीय संजय कुमार सिंह र २७ वर्षीय त्रिमणी बज्राचार्यलाई चेकजाँच गर्ने क्रममा ट्रामाडोल ४५० क्याप्सुल र डिकोलिक ५६० क्याप्सुल गरी जम्मा १ हजार १० क्याप्सुल प्रतिबन्धित लागू औषध सहित पक्राउ गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–८ फूलबारी टोल स्थित २१ वर्षीय सबिन धिमालको घर कोठामा चेकजाँच गर्ने क्रममा सबिन धिमाल र इटहरी–१४ का २९ वर्षीय मुकेश चौधरीलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, नगद २५ हजार ७ सय ४० रुपैयाँ सहित पक्राउ गरेको छ ।
यसैगरी प्रहरी चौकी बेलसोत उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सिरहाबाट कटारीतर्फ आउँदै गरेको ना २२ प ६२२१ नम्बरको मोटरसाइकलबाट KORCOF-C ३ बोतल लागू औषध फेला पारी मोटरसाइकल चालक कटारी नगरपालिका–३ का ३९ वर्षीय नाजिर खान र पछाडि सवार सोही स्थानका ३५ वर्षीय बिरेन्द्र राईलाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।