रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेका विभिन्न सामग्री र एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा  लिएर आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए अनुसार इलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको गस्ती टोलीले बौधिमाई नगरपालिका वडा नं. ५ स्थित बमनहर सडकखण्डमा जाँच गर्ने क्रममा शनिवार बिहान प्रदेश २–०३–००१ च २७२१ नम्बरको पिकअप गाडीबाट अवैध सामान बरामद गरेको छ।

चालक गाडी छाडेर फरार भएको र प्रहरीले बेवारिसे अवस्थामा फेला परेको रौतहट प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

उनका अनुसार गाडीमा लोड गरिएको १ लाख ५० हजार रुपैयाँ बराबरको ३,००० किलोग्राम मिठा (गुँड) र २० लाख रुपैयाँ बराबरको पिकअप गाडी समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।

यसैगरी इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ स्थित झाझ पुल नजिक चेकिङ गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको ९ हजार रुपैयाँ बराबरको ८१ थान माउन्टेन डिउ (२.२५ लिटर) नियन्त्रणमा लिएको छ। ती सामग्रीसहित एक व्यक्तिलाई नियन्त्रणमा लिई गौर भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।