काठमाण्डौ । खैरो हेरोइन कारोबारमा संलग्न दोलखाका एक सहित १० जना काठमाडौँमा पक्राउ परेका छन् ।उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–७ का २१ वर्षीय सागर शिवाकोटी, काठमाडौं महानगरपालिका–१६ का ३० वर्षीय आयुष श्रेष्ठ , ४० वर्षीय सनि श्रेष्ठ र ३५ वर्षीया किभा श्रेष्ठ, वडा नम्वर १९ का ३७ वर्षीय सुरेश शाही खड्गी तथा भक्तपुरको नयाँ ठिमी नगरपालिका–२ का ३५ वर्षीय भगवान् थापामगर लगाएत रहेका छन् ।

उनीहरुलाई नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले लागुऔषध खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । उनीहरूसँग ३०० ग्राम खैरो हेरोइन पनि बरामद भएको ब्यूरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।