भोजपुर। हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ घर परिवारलाई नयाँ आवास उपलब्ध गराइएको छ ।

जनता आवास कार्यक्रममार्फत वडा कार्यालले उनीहरुलाई सुरक्षित आवास  उपलब्ध गराएको हो । वडाध्यक्ष विचारी थापाले राज्य तहबाट प्राप्त बजेटमार्फत प्रतिपरिवार रु तीन लाख ३६ हजारको लागतमा  घर निर्माण गरिएको बताउनुभयो । नयाँ घर पाएपछि लाभग्राही परिवारहरूमा खुसी छाएको छ ।

उहाँका अनुसार लामो समयदेखि जीर्ण तथा असुरक्षित घरमा बस्दै आएका दलित परिवारलाई प्राथमिकतामा राखेर घर निर्माण गरिएको थियो । “आवासविहीन र जोखिमपूर्ण अवस्थामा रहेका परिवारलाई सुरक्षित बसोबास उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, वडाध्यक्ष थापाले भन्नुभयो, “यस कार्यक्रमले उनीहरूको जीवनयापनमा महत्वपूर्ण राहत पुगेको छ ।”

वर्षा र हिउँदको चिसोमा आवासका लागि कठिनाइ भोग्दै आएकामा परिवारले सुरक्षित र व्यवस्थित घरमा बस्न पाउँदा राहत महसुस भएको गोपाल विकले बताउनुहुन्छ । “पहिले वर्खा र जाडोमा निकै समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले सुरक्षित घर पाउँदा जीवन सहज भएको छ ।” 

स्थानीय तहका अनुसार यस्ता समुदाय लक्षित आवास कार्यक्रमले विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको छ ।