सर्लाही— उखु बिक्रीबापत उद्योगहरूबाट पाउनुपर्ने बक्यौता रकम तत्काल उपलब्ध गराउन माग गर्दै सर्लाहीका किसानहरूले शुक्रबार प्रदर्शन गरेका छन्। किसान, जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको सहभागितामा सदरमुकाम मलंगवामा विरोध कार्यक्रम आयोजना गरिएको हो।

प्रदर्शनपछि सहभागीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले ज्ञापनपत्र बुझाएका छन्। प्रदर्शनको नेतृत्व सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा प्रत्याशी अमनिश कुमार यादव, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गरेका थिए।

प्रदर्शनकारीहरूले उखु किसानहरूले वर्षौंदेखि आफ्नो पसिनाको मूल्य पाउन नसकेको गुनासो गर्दै बक्यौता रकम शीघ्र भुक्तानी गर्न माग गरेका छन्। समयमै रकम प्राप्त नहुँदा किसानहरू आर्थिक संकट, ऋणको भार तथा दैनिक जीवन सञ्चालनमा कठिनाइ भोग्न बाध्य भएको उनीहरूको भनाइ छ।

उनीहरूले असार मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी नभए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्। आवश्यक परे जिल्लादेखि केन्द्रसम्म दबाबमूलक आन्दोलन सञ्चालन गरिने र किसानको अधिकार सुनिश्चित नभएसम्म संघर्ष जारी रहने उनीहरूको अडान छ।

सर्लाहीसहित मधेश प्रदेशका विभिन्न जिल्लाका उखु किसानहरू लामो समयदेखि उद्योगहरूबाट पाउनुपर्ने रकमको प्रतीक्षामा छन्। पटक–पटक आन्दोलन र दबाबका कार्यक्रम भए पनि समस्या अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन।