काठमाडौं— अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार फेरि ११.३७ अंक घटेको छ । कारोबार सुरु भएपछि दिनभर कुनै पनि क्षण बजारले वृद्धिको लय समात्न सकेन ।

७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम भने करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ४ अर्ब ७० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६१ करोडको भयो ।

फाइनान्स समूह सबैभन्दा धेरै २.७७ प्रतिशत बढेको छ । योसँगै फाइनान्स समूहको सूचक चैत १५ यताकै उच्च भएको छ । होटल तथा पर्यटन ०.०५ तथा निर्जीवन बीमा ०.०६ प्रतिशत बढेका छन् ।

बैंकिङ ०.४४, विकास बैंक ०.१६, जलविद्युत् ०.७४, लगानी ०.३७, जीवन बीमा ०.४४, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स ०.१६, अन्य ०.७४ तथा व्यापार ०.२३ प्रतिशत घटे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै उपकार लघुवित्तको मूल्य ९.७१, बेस्ट फाइनान्सको ७.५५ तथा सिटी होटलको ७०६ प्रतिशत मूल्य बढ्यो । मूल्य बढ्नेमा आज विभिन्न बैंक तथा वित्तीय संस्थाका डिवेन्चर पनि अगाडि रहे ।

होटल फरेस्ट इनको ४.२२, माबिलुङ इनर्जीको ४.१७, रिजलाइन इनर्जीको ३.८३, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको २.९९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएकामा कम्पनीमा आँखुखोला जलविद्युत्, सिटी होटल, सेन्ट्रल फाइनान्स, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र बेस्ट फाइनान्स क्रमशः अगाडि रहे ।