काठमाडौं— विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन् भने सदस्य पदका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोगका पदाधिकारी चयनका लागि मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन्।
समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि १५ दिने सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनहरूको अध्ययन तथा मूल्याङ्कनपछि छनोट प्रक्रिया अघि बढाइने जनाइएको छ।
सरकारद्वारा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ कार्यान्वयनमा आएपछि आयोगका तत्कालीन अध्यक्ष रामप्रसाद धितालसहित सबै पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता आयोग नेतृत्वविहीन अवस्थामा रहेको छ।
अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा ई। रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी रहेका छन्।
यस्तै सदस्य पदका लागि डा. शेखर अर्याल, राजिवकुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम र झमकप्रसाद शर्माले आवेदन दिएका छन्।
अब सिफारिस समितिले उम्मेदवारहरूको योग्यता, अनुभव र कार्ययोजनाको मूल्याङ्कन गरी सरकारसमक्ष नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ।





































