काठमाडौं । अभिनेता राजेश हमालले सीमा विवादबारे धारणा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय नेतृत्वको परिपक्वता र निर्णय क्षमतामाथि समेत प्रश्न उठाएका छन्। उनले आजको जटिल र अनिश्चित विश्व राजनीतिक परिवेशमा राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि हुनुपर्ने उल्लेख गरेका छन्।
हमालले आफ्नो फेशबुक स्टाटसमा लेखेका छन्, “आजको ढामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।” हमालले सीमा विवादको कानुनी र ऐतिहासिक पक्ष मात्र होइन, यस्ता संवेदनशील राष्ट्रिय मुद्दामा नेतृत्वको जिम्मेवारी, कूटनीतिक परिपक्वता र अभिव्यक्तिको प्रभावबारे समेत ध्यानाकर्षण गराउन खोजेका छन्।
सीमासम्बन्धी विषयलाई भावनाभन्दा तथ्य र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा बुझ्नुपर्ने हमालको भनाई छ । नेपालमा प्रायः ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ लाई एउटै अर्थमा व्याख्या गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यी दुई विषयको प्रकृति, कारण र गम्भीरता पूर्ण रूपमा फरक रहेको बताएका छन्।
तर कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो उपस्थितिलाई संस्थागत रूपमा विस्तार गर्न लागे त्यसलाई सामान्य सीमाविवादका रूपमा लिन नसकिने हमालको भनाइ छ। सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह विवादमा परिरहेका बेला आएको हमालको यो टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।





































