लमजुङ। लमजुङको दोर्दी गाउँपालिका–७ दारिमबोटमा अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्। बुधबार दिउँसो उदिपुरबाट दारिमबोटतर्फ जाँदै गरेको ग.प्र.०३–००१ ह ००३७ नम्बरको अटो अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उकालो सडकमा गुडिरहेको अटोको ब्रेक फेल भएपछि पछाडि सर्दै दुर्घटनामा परेको हो। दुर्घटनामा चालक ३० वर्षीय नबिन गुरुङसहित गम माया गुरुङ, कुशल गुरुङ, हिना लामा गुरुङ र हर्कबहादुर गुरुङ घाइते भएका छन्। उनीहरू सबै दोर्दी गाउँपालिका–७ का स्थानीय बासिन्दा हुन्।

घाइतेमध्ये केहीको टाउको, घाँटी, छाती, ढाड र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था मध्यम रहेको र उनीहरूलाई उपचारका लागि लमजुङ प्रदेश अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।