विराटनगर । श्रम संस्कृति पार्टीभित्र असन्तुष्टि सतहमा आएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङ का निकट सहयोगी मानिएका निनाचन्द्र राई ले पार्टी परित्यागको घोषणा गरेका छन्। धरानमा पत्रकार सम्मेलन गर्दै राईले आजदेखि श्रम संस्कृति पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै राजनीतिक सम्बन्ध नरहेको बताएका हुन्। उनले आफूसँगै १०० भन्दा बढी कार्यकर्ताले पनि पार्टी छाडेको दाबी गरेका छन्।
राईले आफूलाई धरानको भावी मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याइएको तर पछि वाचा विपरीत अर्को व्यक्तिलाई अघि सारिएको आरोप लगाए। उनका अनुसार हर्क साम्पाङले आफूलाई मेयर उम्मेदवार निश्चित भएको बताएका थिए। तर पछि धरानको भावी मेयरका रूपमा धनबहादुर राईको नाम सार्वजनिक भएपछि आफूले धोका महसुस गरेको निनाचन्द्रको भनाइ छ।
हर्क साम्पाङलाई स्वतन्त्र उम्मेदवारका रूपमा जिताउन सक्रिय भूमिका खेलेका राई गत वैशाखमा मात्रै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए। पार्टी छाड्दै उनले अब आफ्नो आगामी राजनीतिक यात्राबारे छिट्टै निर्णय गर्ने बताएका छन् ।





































