काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली लामो अन्तरालपछि पार्टी कार्यक्रममा सार्वजनिक रूपमा उपस्थित भएका छन्। काठमाडौंमा सुरु भएको सदस्यता नवीकरण तथा विस्तारसम्बन्धी दुई दिने कार्यशालाको उद्घाटन गर्दै ओलीले सरकारमाथि कडा प्रहार गरेका छन्।

सम्पत्ति छानबिन आयोगलाई लक्षित गर्दै ओलीले आफूले त्यस्तो आयोगलाई नमान्ने र बयानसमेत नदिने घोषणा गरे। सरकार पूर्वाग्रही ढंगले पुराना दलका नेताहरूलाई मात्रै निशाना बनाउन लागेको आरोप लगाउँदै उनले राज्य संयन्त्रलाई प्रतिशोधको हतियार नबनाउन चेतावनी दिए। ओलीले नयाँ सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सेना र अन्य शक्तिकेन्द्रको सम्पत्ति नछुने तर आफूहरूलाई मात्र फसाउने प्रयास भइरहेको दाबी गरे। उनले राज्य कानुन र संविधानको बाटोमा हिँड्नुपर्ने भन्दै राजनीतिक प्रतिशोध त्याग्न आग्रह गरे। 

यसैबीच, पार्टीको सदस्यता नवीकरण तथा विस्तार कार्यशालाले एमालेभित्र नयाँ ऊर्जा र उत्साह थप्ने विश्वास व्यक्त गर्दै ओलीले संगठन सुदृढीकरणलाई अबको प्रमुख प्राथमिकता बनाउने बताए ।