काठमाडौं— सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले नेपाल–भारत सीमा सम्बन्धी विषयमा उठिरहेका जिज्ञासा र प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह आवश्यक परे पुनः संसदमा उपस्थित हुन तयार रहेको बताएका छन्।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सीमा, राष्ट्रिय स्वाधीनता तथा कूटनीतिक चासोका विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले संसदमा उठ्ने विषयमा जवाफदेही हुन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परे प्रधानमन्त्रीले थप धारणा र स्पष्टिकरण प्रस्तुत गर्ने बताए।
नेपाल–भारत सीमा सम्बन्धी विषय पछिल्लो समय संसद र राजनीतिक वृत्तमा बहसको केन्द्र बनेको छ। विपक्षी दलहरूले सरकारको आधिकारिक धारणा माग गर्दै आएका छन् भने सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलहरूबीच मतभेद देखिएको छ।
यसैबीच, सरकारका प्रवक्ताले राष्ट्रिय हितसँग जोडिएका विषयमा पारदर्शिता, जिम्मेवारी र संसदप्रतिको सम्मानलाई सरकारले निरन्तर कायम राख्ने बताएका छन्। उनले राष्ट्रिय सरोकारका मुद्दामा सरकार संवाद र सहकार्यको माध्यमबाट अघि बढ्ने धारणा व्यक्त गरे।






































