काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी असोजमा महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसका लागि पार्टीले संगठनात्मक तयारीलाई तीव्र बनाउँदै २९९ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ।
पार्टी अध्यक्ष सन्तोष परियार नेतृत्वमा ६ सदस्यीय राजनीतिक संवाद समिति पनि गठन गरिएको छ। समितिलाई वामपन्थी, प्रगतिशील र समाजवादी शक्तिहरूसँग संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने जिम्मेवारी दिइएको छ।
पार्टीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई का पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खेद प्रस्ताव पारित गरेको छ। साथै सरकारले ल्याएको बजेट र सुकुम्बासी नीतिप्रति पनि आलोचनात्मक धारणा सार्वजनिक गरेको छ।
बैठकले पार्टी परित्याग गरी बाहिरिएका १४ जना केन्द्रीय सदस्यहरूलाई धन्यवादसहित शुभकामना दिँदै रिक्त पदबारे निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय गरेको छ। सो पार्टीले वामपन्थी, प्रगतिशील तथा समाजवादी शक्तिहरूबीच एकता र ध्रुवीकरणको पहलका लागि ६ सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको छ।
अध्यक्ष परियारको नेतृत्वमा गठित समितिमा जनार्दन शर्मा, राम कार्की, डा.जनक शाह, कृष्णा केसी र जटिल कार्की सदस्य रहेका छन्। समितिलाई विभिन्न राजनीतिक शक्तिसँग संवाद गरी सहकार्य र एकताको वातावरण निर्माण गर्ने जिम्मेवारी दिइएको प्रलोपाले जनाएको छ ।





































