बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) ले मन्त्री हेरफेरको प्रक्रिया अघि बढाएको छ। पार्टीको निर्देशनपछि सरकारमा रहेका चार जना मन्त्रीले सामूहिक रूपमा पद त्याग्ने तयारी गरेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थी, वन तथा वातावरण मन्त्री खेम सारु मगर र ग्रामीण तथा शहरी विकास मन्त्री सीता शर्मा चौधरीले बुधबार राजीनामा दिने भएका हुन्। मन्त्री ढकालका अनुसार पार्टीको निर्णयअनुसार मौखिक रूपमा राजीनामाको जानकारी दिइसकिएको छ भने लिखित राजीनामा बुझाउने प्रक्रिया जारी छ। उनले मन्त्री पद व्यक्तिगत नभई पार्टीको जिम्मेवारी भएकाले पार्टीकै निर्देशनअनुसार पद छाड्न लागेको बताए।


एमालेले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने तथा नयाँ नेतृत्वलाई अवसर दिने रणनीतिअनुसार मन्त्रीहरूलाई फिर्ता बोलाएको स्रोतको दाबी छ। यससँगै लुम्बिनी सरकारमा नयाँ अनुहारहरूको प्रवेश हुने सम्भावना बढेको छ। यद्यपि मुख्यमन्त्री चेतनारायण आचार्यलाई भने परिवर्तनको सूचीमा नराखिएको बताइएको छ। उनले नै सरकारको नेतृत्व निरन्तर गर्ने स्रोतको भनाइ छ।प्रदेश सरकारभित्रको यो फेरबदललाई एमालेले संगठनात्मक व्यवस्थापन र कार्यक्षमता सुधारको कदमका रूपमा प्रस्तुत गरेको छ। अब रिक्त हुने मन्त्रालयमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषय राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।