काठमाडौं । राप्रपा त्यागेका नेता धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं बीच नयाँ पार्टी बनाउने भन्ने विषयमा छलफल भएको छ। मंगलबार दुई नेताहरुविच भएको भेटवार्तामा नयाँ पार्टी बनाएर अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको स्रोतले बताएको छ। स्रोतका अनुसार दुई नेताबीच राष्ट्रवादी एजेन्डालाई केन्द्रमा राखेर सहकार्य गर्ने विषयमा सकारात्मक समझदारी बनेको छ। आगामी दिनमा एउटै राजनीतिक छातामुनि अघि बढ्ने र नयाँ दल गठनको प्रक्रियालाई तीव्र बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
राप्रपाभित्रको असन्तुष्टिको पृष्ठभूमिबाट बाहिरिएका राणा तथा सडक आन्दोलनमार्फत आफ्नो प्रभाव विस्तार गरिरहेका प्रसाईंबीचको यो भेटलाई नयाँ राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ। विशेषगरी राजसंस्था, हिन्दु राष्ट्र र राष्ट्रवादी मुद्दालाई पुनः स्थापित गर्ने उद्देश्यसहित नयाँ शक्ति निर्माणको तयारी भइरहेको स्रोतको दाबी छ। हाल मलमासका कारण औपचारिक घोषणा रोकिएको भए पनि त्यसलगत्तै नयाँ दल सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको बताइएको छ। पार्टीको नाम, संरचना र नेतृत्वबारे अन्तिम निर्णय भने थप छलफलपछि टुंगो लगाउने भएका हुन् ।
नयाँ दलले परम्परागत राजावादी मतदातासँगै युवा पुस्ता र स्थापित दलप्रति असन्तुष्ट समूहलाई समेत आकर्षित गर्ने रणनीति बनाएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।






































