काठमाडौं । नेकपा (एमाले) ले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीको भनाइ सामान्य विषय नभएको भन्दै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने संकेत गरे । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको उद्देश्यबारे संसदलाई जानकारी गराउनुपर्ने भन्दै विवादित अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने र नियतपूर्वक बोलेको पुष्टि भए राजीनामा दिनुपर्ने बताए।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति नियतवश आएको हो वा भूलवश आएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। यदि जानाजान यस्तो अभिव्यक्ति दिइएको हो भने त्यो गम्भीर र आपत्तिजनक विषय हुने र त्यसको राजनीतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने उनको भनाइ थियो।

ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय संवेदनशीलतासँग सम्बन्ध राख्ने भएकाले यसलाई हल्का रूपमा लिन नसकिने बताए। उनले नियतपूर्वक बोलेको प्रमाणित भए प्रधानमन्त्रीले पदमा बसिरहन नैतिक आधार गुमाउने दाबी गरे।