देशबन्धु बिश्वामित्र: झापा— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा जिल्ला कमिटीको पहिलो जिल्ला अधिवेशन यही जेठ २३ गते बिर्तामोडमा हुने भएपछि संगठनभित्र नेतृत्व चयनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ। जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी मैदानमा देखिएपछि अधिवेशनले विशेष महत्व प्राप्त गरेको छ।
सभापति पदका दाबेदारका रूपमा लक्ष्मण बस्नेत, अर्जुन मैनाली, गोपाल कटुवाल, ओम भण्डारी र विरोध सुवेदी अगाडि देखिएका छन्। उनीहरूको सक्रियता, संगठन निर्माणमा भूमिका र कार्यकर्तामाझको पहुँचका कारण अधिवेशनलाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। विशेष गरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्मण बस्नेत झापाको प्रगतिशील लोकतान्त्रिक युवा राजनीतिमा स्थापित व्यक्तित्वका रूपमा परिचित छन्। अन्य आकांक्षीहरूले पनि संगठन विस्तार, पार्टीको वैकल्पिक राजनीतिक अभियान र स्थानीय तहसम्मको पहुँचलाई आफ्नो बलियो पक्षका रूपमा प्रस्तुत गरिरहेका छन्।
रास्वपाको उदय नेपाली राजनीतिमा पछिल्लो समयको सबैभन्दा उल्लेखनीय घटनामध्ये एक मानिन्छ। परम्परागत दलप्रति बढ्दो असन्तुष्टि, सुशासनको माग, भ्रष्टाचारविरुद्धको जनभावना तथा नयाँ पुस्ताको राजनीतिक सहभागिताको आकांक्षालाई सम्बोधन गर्दै पार्टीले छोटो अवधिमै राष्ट्रिय स्तरमा प्रभाव जमाउन सफल भएको छ। प्रतिनिधिसभा निर्वाचनमा प्राप्त अप्रत्याशित सफलताले रास्वपालाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा स्थापित गराएको छ।
झापा जिल्ला पनि रास्वपाका लागि सम्भावनायुक्त आधार क्षेत्रका रूपमा विकसित हुँदै गएको देखिन्छ। जिल्लामा पार्टीको संगठन विस्तार, युवा र पेशागत वर्गको आकर्षण तथा वैकल्पिक राजनीतिक शक्तिप्रतिको विश्वासले रास्वपालाई बलियो बनाएको विश्लेषण गरिन्छ। यही कारणले पनि जिल्ला नेतृत्व चयनलाई कार्यकर्ताले मात्र होइन, आम नागरिकले समेत चासोका साथ हेरिरहेका छन्।
यसअघि जिल्ला तदर्थ समितिमा कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका प्रकाश पाठक र सचिव शम्भु ढकाल दुवै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। पार्टीको विधानअनुसार सांसदहरू जिल्ला समितिमा बस्न नपाउने व्यवस्था रहेकाले नयाँ नेतृत्व चयनको आवश्यकता उत्पन्न भएको हो।
अधिवेशनले जिल्ला सभापति मात्र चयन गर्ने छैन, यसले झापामा रास्वपाको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना र नेतृत्व शैलीसमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ। पाँच आकांक्षीमध्ये कसले कार्यकर्ताको विश्वास जित्छ भन्ने प्रश्न अहिलेको मुख्य राजनीतिक बहस बनेको छ।
आगामी स्थानीय तथा संघीय निर्वाचनको तयारी, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारका दृष्टिले पनि झापा अधिवेशनलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नेतृत्व चयनपछि पार्टी झापामा अझ संगठित र प्रभावकारी रूपमा अघि बढ्न सक्ने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्। त्यसैले जेठ २३ को अधिवेशन केवल आन्तरिक निर्वाचन नभई झापामा रास्वपाको भविष्यको मार्गचित्र तय गर्ने राजनीतिक मोडका रूपमा समेत हेरिएको छ।





































