काठमाडौं— काठमाडौं महानगरपालिकाको सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै ६ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार हालसम्म प्राप्त उजुरीका आधारमा ६ हजार ३०० बचतकर्ताले कुल रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार फिर्ता माग गरेका छन्।

सहकारी विभाग प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वैशाख १७ गतेदेखि हालसम्म उजुरीको संख्या उल्लेखनीय रूपमा बढेको छ। उजुरी दिने अधिकांश बचतकर्ताको रकम रु एक लाखदेखि पाँच लाखसम्म रहेको बताइएको छ।

उनले दैनिक रूपमा ५०० देखि एक हजार रुपैयाँसम्म बचत गर्ने साना बचतकर्ताहरूको संख्या धेरै रहेको जानकारी दिए। विभागको तथ्यांकअनुसार उजुरी दिनेहरूमध्ये करिब ७८ प्रतिशत साना बचतकर्ता छन्।

यसैबीच, बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले हालै ३४ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। महानगरका अनुसार उक्त सहकारीले रु एक लाख ५० हजारसम्म बचत गरेका सदस्यहरूको रकम फिर्ता गरेको हो।

विभागले आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत भएका सदस्यहरूको रकम फिर्ता गर्ने योजना रहेको जनाएको छ। ठूला रकम बचत गरेका सदस्यहरूको हकमा भने सहकारी विभाग र सम्बन्धित निकायबीच समन्वय गरी ऋण असुली तथा बचत फिर्ताको प्रक्रिया अघि बढाइने बताइएको छ।

महानगरको सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गर्दै आएको छ। विभागले बचतकर्ताको निवेदन संकलन गर्ने, सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने, र आवश्यक परे कारबाहीका लागि सिफारिससमेत गर्ने व्यवस्था रहेको जनाएको छ।

वडास्तरमै समस्या समाधान हुन नसके विभागले थप पहल गर्ने र सञ्चालक पक्षले सहयोग नगरे कानुनी प्रक्रिया अघि बढाइने विभागको भनाइ छ।