काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । दिउँसो १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनी भारतका लागि प्रस्थान गर्ने छन् ।
रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ । भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका लामिछानेको यो भ्रमण ५ दिनको हुने छ ।
सभापति रवि लामिछानेको भ्रमणका विषयमा रास्वपा र भाजपा दुबै पार्टीले आइतबार विज्ञप्ति जारी गरेर औपचारिक जानकारी गराएका थिए । दुबै तर्फका विज्ञप्तीमा रास्वपा र भाजपा बिच पार्टी–स्तरीय सम्बन्ध तथा संवादको सुरुआत गर्नु रहेको उल्लेख गरिएको छ। दुवै दलबिच सङ्गठन सञ्चालनका अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा पनि भ्रमणलाई हेरिएको छ। लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने छन् भने भारतमा रहेका नेपालीहरुसँग साक्षात्कार गर्ने छन् ।
कार्यसूची अनुसार लामिछानेले भाजपाका अध्यक्ष नितिन नविन सहित शिर्ष नेताहरुसँग भेटघाट गर्ने छन् । लामिछाने व्यक्तिगत भ्रमणको सिलसिलामा अयोध्यासमेत जाने तालिका छ ।
रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ । उनी जेठ २२ गते स्वदेश फर्कनेछन्।






































