देवेन्द्र किशोर: नेपालको कम्युनिष्ट आन्दोलन आज एउटा जटिल मोडमा उभिएको छ । दशकौँसम्म परिवर्तन, समानता, वर्गसंघर्ष र जनअधिकारको राजनीति गर्दै आएको नेपाली वाम आन्दोलन अहिले आफ्नै नेतृत्व, चरित्र र कार्यशैलीका कारण गम्भीर संकटमा फसेको देखिन्छ । पछिल्लो प्रतिनिधि सभा निर्वाचनपछि विशेषगरी ठूला वाम दलहरूबीच पुनः एकताको चर्चा चुलिनु केवल राजनीतिक रणनीति मात्र होइन, कमजोर जनाधार र घट्दो विश्वासको प्रत्यक्ष संकेत पनि हो ।
निर्वाचनमा नराम्ररी पराजित भएपछि नेकपा एमाले र नेकपाबीच एकताको बहस पुन: सुरु भएको छ । तर यो बहस सैद्धान्तिक भन्दा बढी अस्तित्व जोगाउने राजनीतिक समीकरणजस्तो देखिन्छ । हिजो दुईतिहाइ बहुमतको सरकार निर्माण गरेर “समृद्ध नेपाल” र “समाजवाद” को सपना बाँड्ने नेतृत्व आज पुनः एकताको नाममा जनतालाई विश्वास दिलाउन खोज्दैछन । तर प्रश्न उठिरहेको छ—के विगतका असफलता, धोका र सत्ता संघर्षबाट कुनै आत्मसमीक्षा भएको छ ?
वास्तविकता के हो भने नेपालका कम्युनिष्ट पार्टीहरू विचारभन्दा नेतृत्वकेन्द्रित शक्ति संघर्षमा सीमित हुँदै गएका छन् । जनताको मुद्दा, वर्गीय राजनीति र समाजवादी आदर्शभन्दा पद, भागबन्डा र सत्ता नियन्त्रण नै मुख्य उद्देश्य बन्दै गएको आरोप आज व्यापक रूपमा उठिरहेको छ । यही कारणले वाम आन्दोलनले आफ्नो नैतिक उचाइ गुमाउँदै गएको हो ।
गत निर्वाचनमा २५ वटा वाम घटक मिलेर चुनावमा जाँदा समेत अपेक्षित परिणाम ल्याउन नसक्नु केवल संगठनात्मक कमजोरी होइन, जनतामा पैदा भएको गहिरो निराशाको परिणाम हो । जनताले वाम नेतृत्वप्रति विश्वास गुमाउनुको मुख्य कारण उनीहरूको दोहोरो चरित्र हो । भाषणमा राष्ट्रवाद, समाजवाद र गरिबमुखी राजनीति गर्ने तर व्यवहारमा भ्रष्टाचार, सत्ता दुरुपयोग, दलाली र व्यक्तिगत स्वार्थमा केन्द्रित हुने प्रवृत्तिले वाम आन्दोलनलाई कमजोर बनाएको छ, धक्का दिएको छ ।
आज नेपाली राजनीतिमा एउटा गम्भीर प्रश्न उठिरहेको छ—वाम एकता किन र कसका लागि हो ? यदि केवल चुनावी अंकगणित मिलाउन, सत्ता समीकरण बनाउन र पुरानै नेतृत्वलाई पुनः स्थापित गर्नका लागि एकता गरिन्छ भने त्यो दीर्घकालीन हुँदैन । बरु त्यस्तो एकताले कम्युनिष्ट आन्दोलनलाई अझ ठूलो दुर्घटनातर्फ लैजान सक्छ र जोखिमपूर्ण पनि छ ।
पछिल्ला वर्षहरूमा भएका वाम एकताहरूले पनि यही पुष्टि गरेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता ऐतिहासिक भनिएता पनि अन्ततः त्यो सत्ता संघर्ष, अविश्वास र व्यक्तिगत अहंकारका कारण विघटनमा पुग्यो । आलोपालो प्रधानमन्त्रीको गोप्य समझदारीदेखि सरकार सञ्चालनसम्मका घटनाले वाम एकताको वास्तविक चरित्र उदांगो बनाइदियो । परिणामतः देश राजनीतिक अस्थिरता, संसद विघटन र संस्थागत अविश्वासको चक्रब्यूहमा फस्यो ।
यही अनुभवका कारण आज जनता वाम एकताको नाराप्रति सहज रूपमा विश्वस्त हुन सकेका छैनन् । जनताले प्रश्न गरिरहेका छन्—जुन नेतृत्वले हिजो एकता जोगाउन सकेन, उसैले फेरि नयाँ एकताको नेतृत्व कसरी गर्न सक्छ ?
नेकपाभित्रै देखिएको असन्तुष्टि, कार्यविभाजनप्रतिको असहमति र नेतृत्वप्रतिको अविश्वासले पनि पार्टीभित्र गहिरो संकट रहेको संकेत गर्छ । भीम रावलदेखि झलनाथ खनाल र वामदेव गौतमर प्रमोद यादवसम्मका नेताहरूको असन्तुष्टि केवल व्यक्तिगत असन्तोष होइन, नेतृत्व शैलीप्रतिको प्रश्न पनि हो । युवा पुस्ताले समेत पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको आरोप लगाइरहेका छन् ।
वास्तवमा अहिले नेपाली वाम आन्दोलनको सबैभन्दा ठूलो संकट वैचारिक होइन, नैतिक संकट हो । कम्युनिष्ट आन्दोलनले गरीब, श्रमिक, किसान, उत्पीडित र सीमान्तकृत वर्गको मुक्तिको कुरा गर्यो, तर व्यवहारमा नेतृत्व वर्ग स्वयं विशेषाधिकार सम्पन्न सत्ताकेन्द्रित समूहमा परिणत भयो । जनताका नाममा राजनीति गर्ने नेताहरू स्वयं भ्रष्टाचार, नातावाद, अवसरवाद र शक्ति दुरुपयोगको आरोपबाट घेरिन थालेपछि आन्दोलनको नैतिक आधार कमजोर बन्न पुग्यो ।
अर्कोतर्फ, चर्को राष्ट्रवादको नारासँगै विदेशी शक्ति केन्द्रहरूसँगको निकटता, सत्ता टिकाउन गरिएका अस्वाभाविक गठबन्धन र सिद्धान्तविहीन राजनीतिक व्यवहारले वाम आन्दोलनको विश्वसनीयता थप कमजोर बनाएको छ । जनताले अब नाराभन्दा व्यवहार हेर्न थालेका छन् ।
यही कारणले अहिलेको वाम एकताको बहसलाई धेरैले 'आत्मरक्षाको राजनीति' का रूपमा व्याख्या गरिरहेका छन् । चुनावी हारपछि नेतृत्वमा आएको छटपटीले एकताको बहस जन्माएको हो भन्ने बुझाइ व्यापक छ । यदि वास्तविक आत्मसमीक्षा, नेतृत्व परिवर्तन, वैचारिक पुनर्गठन र संगठनात्मक शुद्धीकरण बिना केवल शक्ति बचाउने उद्देश्यले एकता गरिन्छ भने त्यसले आन्दोलनलाई पुनर्जीवन होइन, थप पतनतर्फ धकेल्ने निश्चित छ ।
नेपालको वाम आन्दोलनलाई आज आवश्यक परेको कुरा केवल संगठनात्मक एकता होइन, वैचारिक स्पष्टता र नैतिक पुनर्जागरण हो । जनताले फेरि विश्वास गर्न सक्ने नेतृत्व, पारदर्शी राजनीतिक संस्कार र सिद्धान्तनिष्ठ व्यवहार निर्माण नगरी कुनै पनि एकता कथंकदाचित सफल हुन सक्दैन ।
अहिलेको पुस्ताले पुराना नाराभन्दा नयाँ राजनीतिक संस्कृतिको खोजी गरिरहेको छ । युवाहरू रोजगारी, सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्व चाहन्छन् । तर वाम नेतृत्व अझै पनि पुरानै शक्ति समीकरण, गुटबन्दी र व्यक्तिवादी राजनीतिमा अल्झिएको देखिन्छ । यही प्रवृत्तिले वाम आन्दोलनलाई क्रमशः जनताबाट टाढा बनाइरहेको छ ।
यस अर्थमा अहिले चर्चामा रहेको एमाले–नेकपा एकता केवल राजनीतिक घटनाक्रम मात्र होइन, नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यसँग जोडिएको गम्भीर प्रश्न पनि हो । यदि यो एकता सिद्धान्त, आत्मसमीक्षा र नयाँ राजनीतिक संस्कृतिमा आधारित हुँदैन भने त्यो केवल अस्थायी समीकरणमा सीमित हुनेछ ।
इतिहासले प्रमाणित गरिसकेको छ—जनताको विश्वास गुमाएको आन्दोलन केवल नाराले पुनर्जीवित हुँदैन । त्यसका लागि नेतृत्वमा ईमान्दारी, व्यवहारमा शुद्धता र राजनीतिमा उत्तरदायित्व आवश्यक पर्छ । अन्यथा वाम एकताको नारा स्वयं वाम आन्दोलनकै आत्मघाती मार्ग बन्न सक्छ ।




































