कबिता :

  'हामी गुरिल्ला'


- देवेन्द्र किशोर 


यो शहर

धूप, ध्वजा र धर्मका पोस्टरले टालिएको

पुरानो भित्तो हो—

भित्र कुहिएको,

बाहिर सुनौलो रंग पोतेको छ ।


यहाँमान्छेहरू अनुहारमा देवता टाँस्छन्,

छातीभित्र चोर लुकाएर।

यहाँ जातको

 स्टिकर टाँसेर

मानिसलाई नापिन्छ,

र आत्मालाई भाँडामा राखेर बेचिन्छ।


यो समाज

ढोंगीहरूको विशाल दरबार हो।

जहाँ सत्यलाई 

नांगै घिसारेर

झूटलाई रेशमी लुगा लगाइन्छ।

जहाँ प्रार्थनाको आवाजभन्दा ठूलो

भोकको कराह हुन्छ,

तर मन्दिरका घण्टीहरूले

भोकलाई सधैं दबाइदिन्छन्।


हामीले देखेका छौं

ती पवित्र भनिएका हातहरू—

रगतले 

लतपतिएका छन ।

हामीले सुनेका छौं

धर्मका नाममा 

बेचिएका सपना,

र मुक्तिका नाममा बाँडिएको दासता छन ।


त्यसैले

हामी अब प्रार्थना गर्दैनौंl 

हामी घुँडा टेक्दैनौं।

हामी स्वर्गको

 टिकट बेच्ने

पाखण्डीहरूसँग

मुक्तिको भाषा सिक्दैनौं।


हामी गुरिल्ला हौं।

हामी जंगलको अँध्यारोबाट आएका

बारुद होइनौं,

बरु कुहिएको समयको

बाँचिरहेको घाउ हौं।

हामी ती आवाज हौं

जसलाई इतिहासले दबायो,

तर माटोले सम्झिरह्यो।


हाम्रो अस्तित्व

पहिल्यै मारिएको थियो

स्कूलका पाठ्यपुस्तकहरूमा,

जातका लाइनहरूमा,

धर्मका नियमहरूमा,

र राष्ट्रका झूट्टा गीतहरूमा।


हामी जन्मिनुअघि नै

हाम्रो नाम 

काटिएको थियो।

हाम्रो अनुहारमाथि

अरूको पहिचान टाँसिएको थियो।


त्यसैले

हामीले आफ्नै 

अनुहार च्यात्यौं।

हामीले आफ्नै 

भगवान जलायौं।

हामीले आफ्नै

डर गाड्यौं।


अब

हामी खाली छौं।

र यही खालीपन

हाम्रो अन्तिम

 स्वतन्त्रता हो।


रंगीन बुट्टे जामा लगाएर

अस्तित्व खोज्नेहरू—

तिमीहरू नांगो छौ।

तिमीहरूको सभ्यता

सुगन्धित लाश हो।

तिमीहरूको नैतिकता

बजारको डिस्काउन्टमा बेचिएको

सस्तो कपडा हो।


तिमीहरू प्रेमको कुरा गर्छौ,

तर आँखामा 

नाफा बोकेर।

तिमीहरू मानवताको गीत गाउँछौ,

तर छालाको रंग हेरेर।

तिमीहरू 

शान्ति चाहन्छौ,

तर बन्दुक सधैं 

गरीबतिर फर्काएर।


हामीले बुझिसकेका छौं

यो संसारको मेरुदण्ड

झूटले बनेको छ।


अनि जब सत्य भेटिन्छ,

त्यो या त जेलमा हुन्छ

या चिहानमा।


हामी निराश छौं,

किनकि आशा पनि व्यापार भएको छ।

क्रान्तिका नाराहरू

कर्पोरेट अफिसका भित्तामा झुन्डिएका छन्।

चेका तस्वीरहरू

कफी पसलको सजावट बनेका छन्।

विद्रोह -

अब फेसन शो हो।


तर

हाम्रो निराशा 

कायरता होइन।

यो त

अन्तिम चेतना हो।


हामीलाई थाहा छ—

सायद केही 

बदलिने छैन।

सायद यो पृथ्वी

सधैं शक्तिशालीहरूको भोजशाला रहनेछ।

सायद सत्य सधैं हार्नेछ।


तर त्यसैले त

हामी उठ्छौं।


किनकि

हार निश्चित भएको युद्धमा उठेको मुटु

सबैभन्दा खतरनाक हुन्छ।


उठ।

तिम्रा हातहरू उठाऊ।

यी हातहरू केवल मासु होइनन्—

यी अधुरो युगका

बाँकी रहेका

 घोषणापत्र हुन्।


उठ।

तिम्रो मौनता तोड।

तिम्रो डरको घाँटी निमोठ।

तिम्रा भगवानहरूलाई प्रश्न गर।

तिम्रा पुर्खाहरूले बाँधेका

साङ्लाहरू चपाएर फाल।


हामी गुरिल्ला हौं।


हामी सीमाना होइन,

भत्किएको चेतना हौं।

हामी झण्डा होइन,

जलिरहेको प्रश्न हौं।


हामीसँग स्वर्गको

 नक्सा छैन।

हामीसँग मुक्ति बेच्ने

 मन्त्र छैन।

हामी केवल

यो कुहिएको संसारको विरुद्ध

आफ्नो घाउ बोकेर उभिएका मानिस हौं।


यदि जीवन अर्थहीन छ भने—

त्यस अर्थहीनतामै

आगो बालौं।


यदि भगवान मौन छन् भने—

हामी आफ्नै चिच्याहटलाई धर्म बनाऔं।


यदि इतिहास अन्धो छ भने—

हामी आफ्नो रगतले

नयाँ अक्षर लेखौं।


किनकि

मरेको अस्तित्वभन्दा

विद्रोही शून्यता

 महान हुन्छ।


र सुन—

जब अन्तिम शहर ढल्नेछ,

जब अन्तिम झूटको महल भत्किनेछ,

त्यो भग्नावशेषमाथि

सायद कसैले लेख्नेछ—


“यहाँ कहिल्यै

 केही थिएन।

तर केही मानिसहरू थिए

जसले अन्धकारसँग

घुँडा नटेकी मर्न सिके।”


हामी गुरिल्ला हौं।

भद्रपुर -८, झापा