देवेन्द्र किशोर :स्पेनिश ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले आफ्नै घरेलु मैदान रियाद मेट्रोपोलिटानो स्टेडियममा सेल्टा विगोसँग १–० को हार बेहोरेको छ। खेलमा ५६ प्रतिशत बल नियन्त्रण राखे पनि एट्लेटिकोले गोल गर्न सकेन र अवसरहरू सदुपयोग गर्न असफल रह्यो।
सेल्टा विगोका लागि निर्णायक गोल बोर्खा इग्लेसियसले ६२औँ मिनेटमा गरेका थिए। केही दिनअघि मात्र च्याम्पियन्स लिगबाट बाहिरिएको एट्लेटिकोले यस खेलमा पनि अपेक्षित प्रदर्शन गर्न सकेन।
यस हारपछि पनि एट्लेटिको म्याड्रिड ३५ खेलबाट ६३ अंकसहित तालिकाको चौथो स्थानमै कायम छ। सेल्टा विगो भने ५० अंकसहित छैटौं स्थानमा रहेको छ।
अन्य खेलमा रियल सोसिएदाद र रियल बेटिसबीचको खेल २–२ को बराबरीमा सकियो। सोसिएदादले २–० ले पछाडि परे पनि पुनरागमन गर्दै अन्तिम समयमा पेनाल्टीमार्फत बराबरी गरेको थियो। त्यस्तै, लेभान्तेले ओसासुनालाई ३–२ ले र सेभिलाले एस्पानयोललाई २–१ ले पराजित गरे। एल्चे र अलावेसको खेल १–१ को बराबरीमा टुंगियो।




































