देवेन्द्र किशोर :चीनको शंघाईमा जारी धनुकाँड (आर्चरी) वर्ल्ड कप २०२६ को दोस्रो चरणमा भारतीय महिला रिकर्व टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएको छ।
दीपिका कुमारी, अंकिता भकत र कुमकुम मोहोद सम्मिलित भारतीय टोलीले रोमाञ्चक फाइनलमा आयोजक चीनलाई शूट-अफमा ५-४ (२८-२६) को सेट ले पराजित गर्दै स्वर्ण हात पारेको हो। खेल अत्यन्त प्रतिस्पर्धात्मक रह्यो, जहाँ दुवै टोलीले अन्तिम क्षणसम्म कडा टक्कर दिएका थिए।
भारतले पहिलो सेट ५४-५३ ले जित्दै राम्रो सुरुवात गर्यो। तर चीनले दोस्रो सेट ५५-५२ ले जित्दै खेलमा बराबरी कायम गर्यो। तेस्रो सेटमा चीनले ५७-५६ ले अग्रता लिएको भए पनि भारतले चौथो सेट जित्दै खेललाई शूट-अफसम्म पुर्यायो।
निर्णायक शूट-अफमा भारतीय खेलाडीहरूले उत्कृष्ट संयम देखाए। अंकिताले ९ अंक जोडिन् भने १७ वर्षीया कुमकुम मोहोदले १० अंकको उत्कृष्ट प्रदर्शन गरिन्। अन्तिम निर्णायक तीरमा अनुभवी दीपिका कुमारीले ९ अंक प्रहार गर्दै भारतलाई ऐतिहासिक जित दिलाइन्।
यो जित भारतका लागि २०२१ पछि महिला रिकर्व टोली स्पर्धामा पहिलो वर्ल्ड कप स्वर्ण हो। सेमिफाइनलमा भारतले १० पटकको ओलम्पिक च्याम्पियन दक्षिण कोरियालाई पराजित गर्दै ठूलो उलटफेर गरेको थियो।
पूर्णकालिक प्रशिक्षक बिना प्रतियोगितामा उत्रिएको भारतीय टोलीले दीपिका कुमारीको नेतृत्वमा युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका कारण यो सफलता हासिल गरेको हो। दीपिकाले हालसम्म सात वटा वर्ल्ड कप टोली स्वर्ण पदक जितिसकेकी छन्।
यस प्रतियोगितामा भारतको यो दोस्रो पदक हो। यसअघि कम्पाउन्ड धनुर्धर साहिल जाधवले काँस्य पदक जितेका थिए। अब रिकर्वतर्फ सिमरनजीत कौर पनि पदकको दौडमा रहेकी छन्, जसले सेमिफाइनलमा जित हासिल गर्नुपर्नेछ।




































