देवेन्द्र किशोर :दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता तथा “थालापति” भनेर चिनिने विजय अब तमिलनाडुको राजनीतिमा नयाँ शक्तिका रूपमा स्थापित भएका छन्। केही वर्षअघि मात्रै राजनीति प्रवेश गरेका विजयले आफ्नै पार्टी तमिलगा वेत्रि कज़हगाम (टिभिके) स्थापना गरेर राज्यको सत्ता सम्हाल्नु भारतीय राजनीतिमा एउटा ऐतिहासिक घटना मानिएको छ। लामो समयदेखि डीएमके र एआईएडीएमकेजस्ता दलको प्रभाव रहेको तमिलनाडुमा जनताले यसपटक नयाँ विकल्प रोजेका छन्।
मुख्यमन्त्रीको शपथ लिएलगत्तै आज विजयले गरेका तीन निर्णय अहिले व्यापक चर्चामा छन्। पहिलो, प्रत्येक परिवारलाई २०० युनिटसम्म निःशुल्क बिजुली दिने घोषणा। यो निर्णयले मध्यम तथा निम्न आय भएका परिवारलाई प्रत्यक्ष राहत दिने अपेक्षा गरिएको छ। बढ्दो महँगीका कारण दैनिक जीवन कठिन बन्दै गइरहेका बेला यस्तो निर्णय जनमुखी कदमका रूपमा हेरिएको छ। यद्यपि यसले राज्यको आर्थिक भार बढाउने सम्भावना पनि रहेको विश्लेषकहरू बताउँछन्।
दोस्रो, लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने निर्णयले युवापुस्तामा बढ्दो लागूऔषध समस्यालाई नियन्त्रण गर्ने संकेत दिएको छ। पछिल्ला वर्षहरूमा दक्षिण भारतका विभिन्न क्षेत्रमा लागूऔषध कारोबार र दुर्व्यसन बढ्दै गएको चिन्ता व्यक्त भइरहेका बेला विजय सरकारले यसलाई प्राथमिकतामा राखेको देखिन्छ।
तेस्रो, महिलाको सुरक्षाका लागि विशेष टास्क फोर्स गठन गर्ने निर्णय सामाजिक दृष्टिले निकै महत्वपूर्ण मानिएको छ। महिलामाथि हुने हिंसा, दुर्व्यवहार र असुरक्षाका घटनाप्रति सरकार संवेदनशील रहेको सन्देश यसले दिएको छ। यदि प्रभावकारी रूपमा कार्यान्वयन भयो भने महिलाको सार्वजनिक सहभागिता र आत्मविश्वास बढ्न सक्छ।
विजयको उदयले भारतीय राजनीतिमा सेलिब्रिटी प्रभाव अझै बलियो रहेको देखाएको छ। चलचित्रमा “जनताको नायक” बनेका विजय अब वास्तविक राजनीतिमा पनि जनअपेक्षा पूरा गर्न सक्ने वा नसक्ने भन्ने ठूलो चुनौतीमा छन्। चुनावअघि गरेका प्रतिबद्धता व्यवहारमा कत्तिको सफल हुन्छन् भन्ने कुराले नै उनको राजनीतिक भविष्य निर्धारण गर्नेछ। अहिले भने तमिलनाडुमा परिवर्तनको आशा र नयाँ नेतृत्वप्रतिको उत्साह स्पष्ट रूपमा देखिएको छ।




































