देवेन्द्र किशोर / गोर्खा राष्ट्रिय मुक्ति मोर्चा को संगठन विस्तारमा जोड — गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अन्तर्गत तराई समष्टि कमिटीको महत्वपूर्ण सभा उत्तर च्याँगा साईनगरस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ। तराई समष्टि कमिटीका अध्यक्ष कर्ण प्रधान को सभाध्यक्षतामा सम्पन्न उक्त सभामा समष्टिका विभिन्न शाखाबाट प्रतिनिधि तथा पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा संगठनको वर्तमान अवस्था, आगामी रणनीति तथा जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्ने विषयमा विस्तृत छलफल गरिएको बताइएको छ। कार्यक्रममा केन्द्रीय समिति सदस्य भुवानी प्रसाद दुलाल, जीएनडब्लुओ केन्द्रीय समिति सदस्या रोमा शर्मा, सचिव दिपेन लोहार, निरपानी शाखा अध्यक्ष काजी शर्मा, साथै विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सभाका क्रममा अधिकांश वक्ताहरूले संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले बदलिँदो राजनीतिक परिवेशमा जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै संगठनलाई थप सक्रिय र सुदृढ बनाउन आवश्यक रहेको धारणा राखे। विशेषगरी युवावर्ग र श्रमिक समुदायलाई संगठनसँग जोड्ने अभियानलाई तीव्रता दिनुपर्ने विषयमा सहभागीहरूले एकमत व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भवानी प्रसाद दुलालले संगठनलाई जनमुखी बनाउँदै सबैसँग मित्रवत् सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने बताए। उनले घरदैलो कार्यक्रम, जनभेटघाट तथा स्थानीय स्तरका अन्तरक्रियामार्फत संगठनलाई जनताको विश्वाससँग जोड्न सकिने धारणा व्यक्त गरे। साथै उनले शाखा स्तरबाट छिट्टै विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिए।
सभाले तराई समष्टि अन्तर्गत रहेका सबै शाखालाई सक्रिय र चलायमान बनाउने निर्णय सर्वसम्मतिले पारित गरेको जनाएको छ। स्थानीय तहमा संगठनात्मक गतिविधि बढाउने, सदस्यता विस्तार अभियान सञ्चालन गर्ने तथा नियमित बैठक र जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने विषयमा समेत सहमति भएको बताइएको छ।
समष्टि सचिव दिपेन लोहारले सञ्चालन गरेको उक्त सभा अध्यक्ष कर्ण प्रधानको समापन मन्तव्यसँगै सम्पन्न भएको थियो। सभापछि जारी विज्ञप्तिमा संगठनलाई थप सशक्त र जनआधारित बनाउने दिशामा सबै शाखाले संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।




































