देवेन्द्र के ढुङगाना : मेघालय डेमोक्रेटिक एलायन्स (एमडीए) सरकार अन्तर्गत सञ्चालनमा रहेको नयाँ शिलोङ टाउनशिप (एनए टी) पानी आपूर्ति परियोजनाको लागत ३२१ करोड रुपैयाँबाट बढेर ७७० करोड रुपैयाँ पुगेपछि हाइनियट्रेप युवा परिषद् (एचयाई सि ) ले सरकारको कडा आलोचना गरेको छ।

करिब ४५० करोड रुपैयाँको यस वृद्धि वित्तीय कुप्रबंधन, कमजोर योजना, प्रशासनिक अक्षमता र सम्बन्धित निकायहरूबीच समन्वयको अभावको परिणाम भएको परिषद्को आरोप छ।

एचयाईसिका अध्यक्ष रोय कुपर सिनरेमका अनुसार, “२०१४ मा ३२१ करोड रुपैयाँमा परिकल्पना गरिएको परियोजना अहिले ७७० करोड रुपैयाँ पुग्नु अस्वीकार्य छ। सरकारले प्रारम्भिक अनुमान नै सही रूपमा नगरेको स्वीकार गर्नुले प्रशासनिक लापरवाही स्पष्ट हुन्छ।”

परिषद्ले परियोजनाको लागत वृद्धिका लागि जिम्मेवार को हो भन्ने प्रश्न उठाउँदै, स्वीकृति अघि पर्याप्त सम्भाव्यता अध्ययन र योजना किन नगरिएको भन्दै सरकारसँग स्पष्टीकरण मागेको छ।

एचयाईसिले मेघालयका नागरिकहरू बेरोजगारी, कमजोर सडक अवस्था, पानी अभाव, अपर्याप्त स्वास्थ्य सेवा र आधारभूत पूर्वाधारको समस्यासँग जुधिरहेको अवस्थामा यस्तो लागत वृद्धि चिन्ताजनक भएको जनाएको छ। यसले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक कोषको सम्भावित दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको परिषद्को भनाइ छ।

“सार्वजनिक पैसा सरकार वा ठेकेदारको निजी सम्पत्ति होइन। कुप्रबंधनका कारण खर्च हुने प्रत्येक रुपैयाँ जनताप्रति विश्वासघात हो,” सिनरेमले थपे।

अन्त्यमा, एचवाईसिले राज्य सरकारलाई सार्वजनिक कोषको जिम्मेवार प्रयोग, पारदर्शिता र कडा जवाफदेहिता सुनिश्चित गर्न आग्रह गरेको छ।