-अपरिचित 'भद्रपुरे' 

म युगौँदेखि जलिरहेको छु,

आगो होइन—मनभित्रको 

अनन्त दाह,

भिजेको छु, 

आफ्नै 

आँसुका भेलले,

तर किन यो आत्मा अझै सुक्खा छ आज?


भिज्नुमा किन पछुतो हुनुपर्छ मलाई?

जब हरेक थोपा एउटा हारको 

साक्षी छ,

मेरा पल्काभित्र थुनिएका

 ती बादलहरू

किन कहिल्यै 

वर्षिन पाएनन् 

मुक्त हाँसी झैँ?


मेरा आँखाहरू वर्षौंदेखि तिर्खाइरहेका छन्,

न पानीका लागि,

न सपनाका लागि,

तर त्यो एउटा उज्यालोको खोजीमा

जुन कहिल्यै मेरो क्षितिजमा उदाएन।


गन्तव्यको रोगले थलिएको यो मन,

प्रत्येक पाइला पीडाको धुनमा बाँधिएको,

म हिँडिरहेँ,

 लडिरहेँ,

 फेरि उठिरहेँ—

जस्तो एक योध्दा, भाग्यसँग जुधिरहेको छ ।


यो युद्ध मैदान 

 कहाँ थियो?

न त तलवार, 

न त रगतका खोलाहरू,

तर मनभित्रको गहिरो अँध्यारोमा

म आफैँसँग 

निरन्तर

 भिडिरहेको छु ।


प्रत्येक हार मेरो छातीमा

 कुँदिएको छ,

प्रत्येक चोट एउटा कथा बनेर

 बाँचेको छ ,

म रोएँ भने पनि त्यो कमजोरी थिएन,

त्यो त संघर्षको मौन घोषणा थियो।


मेरो छायाँ पनि कहिल्यै 

टाढा भएन,

ऊ सँगसँगै हिँडिरह्यो, 

निःशब्द सिपाहीझैँ,

मैले भाग्न खोजेँ, आफैँबाट टाढा,

तर ऊ त मेरो आत्माकै 

प्रतिबिम्ब रहेछ।


बियोगले मलाई चिर्दै गयो भित्रभित्र,

जस्तो कुनै पुरानो घाउ फेरि खुल्दा,

तर त्यही पीडाले मलाई 

बलियो बनायो,

जस्तो आँधीले रूखलाई अझ मजबुत पारयो ।


म लडिरहेँ,

 आँसुका नदीहरू पार गर्दै,

म लडिरहेँ, स्मृतिका पहाडहरू चिर्दै,

हार नजिकिँदै थियो प्रत्येक मोडमा,

तर साहस अझै मुटुभित्र

 जिउँदो थियो।


अन्ततः, मैले स्वीकारेँ यो नियति

कि गन्तव्य सायद कहिल्यै भेटिने छैन,

तर यो यात्रा, 

यो अनन्त संघर्ष नै

मेरो अस्तित्वको अन्तिम 

चिन्ह हुनेछ।


म जलिरहेको छु, तर यो हार होइन,

यो त मेरो वीरताको अन्तिम ज्वाला हो,

बियोगान्त भए पनि मेरो कथा

कायरताको होइन एक अमर गाथा हो।