काठमाण्डौ  ।  चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता, निर्माता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ ।

अभिनेताकी माता ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा निधन भएको हो । ८८ वर्षीया ढुंगानाको आइतबार बिहान ५ बजे ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवंगत ज्ञानुदेवीको स्वास्थ्यमा शनिबार साँझ अचानक समस्या देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई तत्कालै सुमेरु सिटी हस्पिटल भर्ना गरिएको थियो ।

ज्ञानुदेवीको आइतबार दिउँसो काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने बताइएको छ।

मातृशोकमा परेका अभिनेता ढुंगाना र उनको परिवारप्रति चलचित्रकर्मी, प्रशंसक र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत हार्दिक समवेदना व्यक्त गरिरहेका छन् ।