काठमाडौं— नेपाली काँग्रेसले संसदीय दलको नेतृत्व चयनका लागि आन्तरिक निर्वाचन प्रक्रिया प्रारम्भ गरेको छ। दलको नेता चयनसम्बन्धी जिम्मेवारी पाएको समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो।
पार्टीका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजकत्वमा रहेको समितिले मतदाता नामावली सार्वजनिक गरेसँगै निर्वाचनका औपचारिक चरण सुरु गरिएको जनाएको छ। कार्यतालिका अनुसार उम्मेदवारी दर्ता वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म तोकिएको छ भने मतदान सोही दिन अपराह्न ४ बजेदेखि ५ बजेसम्म सम्पन्न हुने व्यवस्था गरिएको छ।
यद्यपि दलभित्र सहमतिको प्रयास पनि जारी रहेको छ। सम्भावित सहमतिबाटै नेतृत्व टुंग्याउने प्रयास भइरहे पनि सहमति नजुटेमा मतदानपछि तत्काल मतगणना गरी परिणाम घोषणा गर्ने तयारी गरिएको छ।
दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् भने मोहन आचार्यदेखि निश्कल राईसम्मको सम्भावित नामहरू पनि चर्चामा रहेका छन्। प्रतिनिधि सभामा काँग्रेसका ३८ सांसद रहेका छन्।
पार्टीभित्रको आन्तरिक मतभेदका कारण दलको नेता चयन प्रक्रिया ढिलाइ हुँदै आएको भए पनि हाल सर्वोच्च अदालतबाट सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता प्राप्त भएपछि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।
प्रमुख प्रतिपक्षी दलका रूपमा काँग्रेसको संसदीय दलको नेता संवैधानिक तथा राजनीतिक रूपमा महत्वपूर्ण हुने भएकाले नेतृत्व चयनमा सहमति जुटाउन दलभित्र चुनौती देखिएको छ।





































