काठमाण्डौ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ । शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई अदालत उपस्थित गराइएको थिएन ।
दुवै नेतालाई भदौको जेनजी आन्दोलनमा भएको घटनामा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो । सोही आधारमा शनिबार प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
गत भदौ २३–२४ गत्तेको जेनजी प्रदर्शनमा हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए । प्रदर्शनको क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठान तथा निजी निवासमा समेत आगजनी तोडफोड लुटपाट भएको थियो ।






































