काठमाडौं— सङ्घीय संसद्को नयाँ अधिवेशन सिंहदरबारभित्रैबाट सञ्चालन गर्ने तयारीसँगै ६ वटा राष्ट्रिय दलका संसदीय कार्यालयहरूको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ। सांसद सङ्ख्या र पदाधिकारीको आवश्यकताअनुसार संसद् सचिवालयले कक्षहरू बाँडफाँट गरी रङ्गरोगन र फर्निचर जडानको कामलाई तीव्रता दिएको छ।
यसपटकको व्यवस्थापनमा सबैभन्दा ठूलो कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको छ। सचिवालय भवन नं. २ मा रास्वपाका लागि १८० कुर्सी अटाउने विशाल बैठक हलसहितको कार्यकक्ष तयार पारिएको छ।
रास्वपाको कार्यालय व्यवस्थापनमा नयाँ सामान खरिद गर्नुको साटो पुराना कार्पेट, पर्दा र फर्निचरलाई नै प्राथमिकता दिइएको छ। रास्वपा महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीको आग्रहअनुसार खर्च कटौती गर्न उपलब्ध सामग्रीकै अधिकतम प्रयोग गरिएको सचिवालयका कर्मचारीहरूले बताए। बैठक हलबाहेक पदाधिकारीका लागि थप पाँचवटा कार्यकक्ष समेत तयार पारिएका छन्।
रास्वपाले यसअघि प्रयोग गर्दै आएको भवनमा अहिले नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कार्यालयहरू व्यवस्थापन भइरहेका छन्। ती कक्षहरूमा रङ्गरोगनको काम सकिइसकेको छ भने कार्पेट र फर्निचर जडान जारी छ।
यता, ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) लाई भने उनीहरूले साविकमा प्रयोग गर्दै आएकै भवन र कार्यालयहरूमा निरन्तरता दिइएको छ। सांसद सङ्ख्याका आधारमा उनीहरूका कोठाहरू पुनस् विभाजन र व्यवस्थित गरिएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्थापन अहिलेका लागि अल्पकालीन भए पनि संसद्को नयाँ अधिवेशन सुरु हुनुअगावै सबै दलका कार्यालयहरू पूर्ण रूपमा सञ्चालन योग्य भइसक्ने छन्।






































