गुल्मी— गुल्मीमा एक महिलाको शव फेला परेको छ। घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। 

मालिका गाउँपालिका– ७ घर भएका ४४ वर्षीया विमला सुनार मृत फेला परेकी हुन्। उनको शव मालिका ५ स्थित सडकमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मृत फेला परेकी महिलाको कानमा चोट देखिएको छ। 

प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक खण्डमा उनी अचेत अवस्थामा फेला परेकी थिइन्।

उनको मृत्यु भएपछि मात्रै आफूहरुलाई जानकारी आएको प्रहरीले जनाएको छ। घटनाको जानकारीपछि प्रहरी चौकी इस्माबाट प्रहरी टोली घटनास्थल पुगेको छ। शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल लगिएको छ। 

ट्याक्टरको ठक्करबाट उनको मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। लु.४ त ७५५५ नम्बरको ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको  गुल्मीका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।