काठमाडौं— चाइना मिडिया ग्रुप एनल ट्रेडिसन (सीएमजी) द्वारा हरेक वर्ष आयोजना गरिने ‘स्प्रिङ फेस्टिभल गाला’ ले यस वर्ष नयाँ मिडिया प्लेटफर्ममार्फत विश्वव्यापी पहुँच र दर्शक संख्या उल्लेखनीय रूपमा विस्तार गरेको छ ।

यस मनोरञ्जनात्मक कार्यक्रमलाई विश्वकै सबैभन्दा धेरै हेरिने राष्ट्रिय टेलिभिजन कार्यक्रमका रूपमा चिनिन्छ । यस वर्ष उक्त कार्यक्रमले मोबाइल एप्स र सामाजिक सञ्जाल प्लेटफर्ममार्फत कूल ६७ करोड ७० लाख प्रयोगकर्तासम्म पहुँच बनाउँदै १३ अर्ब ५० करोडभन्दा बढी भ्युज प्राप्त गरेको जनाएको छ ।

बेइजिङसहित चीनका चार अन्य सहरबाट प्रत्यक्ष प्रसारण गरिएको गाला कार्यक्रम विश्वभर करिब ४ हजार मिडिया संस्थामार्फत प्रसारण गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ३८ प्रतिशतले बढी हो ।

सीएमजीले अत्याधुनिक प्रविधि र सयौं वर्ष पुरानो सांस्कृतिक सम्पदालाई संयोजन गर्दै कार्यक्रम प्रस्तुत गरेको जनाएको छ । कार्यक्रममा मार्शल आर्टदेखि हास्य प्रस्तुति सम्मका विभिन्न विधामा कलाकारहरूसँगै चिनियाँ प्रविधि कम्पनीहरूले विकास गरेका ह्युमनॉइड रोबोटहरू पनि सहभागी भएका थिए ।

यसपटकको गालाले परम्परा र प्रविधिको संयोजनमार्फत विश्वव्यापी दर्शकमाझ चिनियाँ सांस्कृतिक उत्सवलाई अझ व्यापक रूपमा पु¥याएको बताइएको छ ।