काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘म पहिलो पटक संसदमा आएको हुँ । यो मेरो इच्छा होइन, परिस्थितिको परिणामहो । जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न तथा राज्यलाई पुनः संवैधानिक लयमा फर्काउने उद्देश्यले प्रधानमन्त्री बनेको हुँ ।’

उनले प्रतिनिधिसभा विघटन भएको र सरकारले २०८२ फागुन २१ गते तोकिएकै मितिमा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता जनाएको बताइन् । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरिन् ।

आफू कुनै शासकीय आकांक्षा वा पदको लोभले प्रधानमन्त्री नबनेको स्पष्ट गर्दै उनले विथोलिएको संवैधानिक व्यवस्थालाई सही मार्गमा फर्काउन र देशलाई संकटबाट जोगाउन विशम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताइन् ।