विराटनगर— झापा, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर र गाँजासहित २ जनालाई पक्राउ गरेको छ।
माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट २८ वर्षीय अरुष दासलाई पक्राउ गरेको हो। उनको साथबाट १ ग्राम २७० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाट क्षेत्रमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका एक व्यक्तिलाई शंका लागि चेकजाँच गर्दा दमक नगरपालिका–४ का एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिएको छ।
उता धनकुटामा भने प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँगुरिगढी गाउँपालिका–५ स्थितमा को २२ प १०३९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा बोराभित्र राखिएको १२ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ। मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद गरिएको लागुऔषध सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






































