काठमाडौं— प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्।

शुक्रबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको अपेक्षासहित उठेको ‘जेनजी आन्दोलन’मा सहादत प्राप्त गर्ने वीर योद्धाप्रति पनि नमन व्यक्त गरेकी छन्।

‘नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ उनले लेखेकी छन्, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि नमन।’

प्रधानमन्त्री कार्कीका अनुसार ती सहिदहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको एक ऐतिहासिक मोडमा उभिएको छ । उनले अब कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गर्दै शान्तिपूर्ण, न्यायपूर्ण र समावेशी समाज निर्माणतर्फ अग्रसर हुन सबैलाई आग्रह गरेकी छन्।

‘उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्,’ उनले भनिन् ।

उनले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको मूल दायित्व भएको उल्लेख गर्दै ती मूल्यहरू सदा स्मरणमा राखेर शासन सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन्।