कास्की— आगामी निर्वाचनलाई लक्षित गर्दै कास्की जिल्लामा १७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। यसअघिको निर्वाचनमा दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा यसपटक १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि आवेदन दिएका छन्।
जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन आह्वान गरेको थियो। सो अवधिमा उल्लेखित सङ्ख्यामा आवेदन प्राप्त भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
उनका अनुसार प्राप्त आवेदनबारे कार्यालयले आवश्यक अध्ययन तथा प्रमाणीकरणको काम गरिरहेको छ। प्रक्रिया पूरा भएपछि नयाँ मतदाता समेटिएको अन्तिम नामावली छिट्टै सार्वजनिक गरिने उनले बताए।
यसैबीच, जिल्लामा निर्वाचन प्रयोजनका लागि १५३ मतदानस्थल निर्धारण भइसकेका छन्। यसअघिको निर्वाचनमा भने १५० मतदानस्थल रहेका थिए। अन्तिम मतदाता नामावली स्वीकृत भएपछि मात्रै मतदान केन्द्रहरूको अन्तिम संख्या टुङ्गो लाग्ने सूचना अधिकारी न्यौपानेको भनाइ छ।






































