घोडाघोडी। यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए ।

“त्यसपछि हामी चुरे–४ कै टाँकगडा जङ्गलको बीचमा बस्न थाल्यौँ”, नवलसिंहले विगत सम्झिँदै भन्नुभयो, “त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जङ्गलको छेउमा ओत लाग्न आइपुग्यौँ ।”

सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ । डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर जानुभयो । भारतमै हुँदा गाउँमा नापी टोली आएछ । आफन्तले रतनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नाप्न लगाएछन् । “बुवाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ”, उहाँले भन्नुभयो, “आफन्तले हाम्रो सबै जमिन आफ्नो नाममा नापी गराइ दिएछन् । म फर्किँदा मेरो टेक्ने जमिनसम्म थिएन ।”

विसं २०६० मा डडेल्लधुरा छाडेर चुरे गाउँपालिका–४ स्थित गुठीको जमिनमा बसोबास गरेपनि त्यहाँबाट उठाइएपछि अहिले यहाँ आएर बसोबास गरिरहेको उहाँले बताउनुभयो ।

रतनको परिवार स्थानीय सूर्यमुखी आधारभूत विद्यालयको जङ्गल छेउको खेलमैदानमा पालमुनी बस्दै आएको छ । रतन भन्नुहुन्छ, “यो हाम्रो इच्छा होइन, बाध्यता हो । यहाँबाट स्कुलले खेलकुद मैदान खाली गर्दिनु भनिरहेको छ, अब कता जाने थाहा छैन ।” 

त्रिपालमुनिको जोखिमपूर्ण जीवन

हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । तीमध्ये केही परिवारका अभिभावकहरू रोजगारीको खोजीमा भारत गएकाले घरमा बालबालिका मात्रै छन् । घरबार गुमाएर जङ्गलको बसोबास गरिरहेका उनीहरूको जीवन कष्टकर छ । पालमा बालबालिकाहरुले जाडो धान्नै कठिन छ । स्थानीय कलि नाथका अनुसार वर्षायाममा पानी चुहिएर रासन, लत्ताकपडा सबै भिज्छ ।

“पानी पर्दा टहराभित्रै भेल पस्छ”, उहाँ भन्नुहुन्छ, “रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ । कति पटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनु परेको छ । तर जाने ठाउँ कतै नभएपछि यही मृत्युसँग जुधेर बस्नुपर्ने अवस्था छ ।”

गिट्टी कुटेर जीविका

यहाँका महिलाहरूको दिनचर्या बालुवा खोलामा बित्छ । ओलामा सङ्कलन गरिएको गिट्टी नै उनीहरुको आम्दानीको स्रोत हो ।

“अहिले छोराछोरीको परीक्षा आइरहेको छ”, स्थानीय बुदीसरा सिंजाली भन्नुहुन्छ, “गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने योजना छ ।” बुदीसराझैँ अन्य महिलाहरुको पनि मुख्य आम्दानीको स्रोत गिट्टी नै हो ।

प्रति घनमिटर एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने पैसाले उनीहरूको घरको नुन–तेल चल्छ । सो क्षेत्रमा मात्रै होइन चुरेको विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारबिहीन परीवारको अवस्था समान छ । वैकल्पिक बसोबासको व्यवस्था नहुँदा पीडितहरू हाल बसिरहेको स्थानमै बस्नुपर्ने बाध्यता रहेको चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताउनुभयो । उहाँका अनुसार २०७७ सालमा आएको बाढीलगायत अन्य कारणले बिस्थापित ११६ परीवार चुरे–४ को पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ को खामाहाले, खानीडाँडालगायतका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । 

  सुरुमा घरबारबिहीन भन्दै वन क्षेत्रमा करिब सात सय परिवार बसेका थिए । गाउँपालिकाले छानबिन गर्दा ११६ परिवार मात्रै पूर्ण रूपमा घरबारविहीन पाइयो । उनीहरुलाई वन क्षेत्र अतिक्रमण गरेको भनी विसं २०७९ मा वन कार्यालयले हटायो । गाउँपालिकाले गरेको छानबिनअनुसार हाल वास्तविक पीडितहरु नै  जङ्गल क्षेत्रमा बसोबास गरिरहेका छन् ।  

“विस्थापितहरूको समस्या वास्तवमै गम्भीर छ”, वडाध्यक्ष मगर भन्नुुहुन्छ, “तर स्थानीय तहसँग उनीहरूलाई तत्काल व्यवस्थापन गर्ने आफ्नै जमिन छैन । वन क्षेत्रबाट वन कार्यालयले हटाउन खोज्छ, यता उनीहरूको जाने ठाउँ छैन । यही कारणले उनीहरू जोखिमपूर्ण अवस्थामा छन् ।”

चुरेका यी विस्थापित परिवारहरू सरकारले सुरक्षित घरबास उपलब्ध गराउला कि भन्ने आशामा वर्षौँदेखि छन् ।  यही राज्यका नागरिक भएकाले पनि सरकारले अभिभावकको भूमिका निर्वाह गरोस् भन्ने उनीहरुको चाहना छ ।