काठमाडौं— थापाथलीस्थित प्रसूतिगृहका आईटी विभाग प्रमुख इन्जिनियर राज श्रेष्ठमाथि खुकुरी प्रहार भएको एक महिना बित्दा पनि घटनामा संलग्नहरू पक्राउ परेका छैनन् । 

काभ्रेको धुलिखेल नगरपालिका–७ का श्रेष्ठमाथि कात्तिक २३ गते ललितपुरको भनिमण्डलमा खुकुरी प्रहार भएको थियो । तर, घटनामा संलग्नहरू अझै पक्राउ परेका छैनन् ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट श्रेष्ठको बायाँ हातको कुहिनो र ढाडमा चोट लागेको थियो । घाइते श्रेष्ठलाई स्थानीयले जाउलाखेलस्थित अल्का अस्पताल पुर्‍याएका थिए । श्रेष्ठ उपचारपछि घर फर्किसकेका छन् । 

ललितपुर प्रहरीले भने अनुसन्धान भइरहेको जनाएको छ ।