कञ्चनपुर— महेन्द्रनगरको महाकाली नदीमा बिहीबार दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
‘स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ’, उनले भने, ‘अहिले खोजी कार्यमा नेपाल प्रहरीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
त्यसैगरी नौ दिनअघि महाकाली नदीमा बेपत्ता भएका भीमदत्त–१२ ओदालीका २१ वर्षीय रोशन दमाईंको शव भेटिएको छ ।
महाकाली नदीमा भुजेला क्षेत्रबाट नुहाउने क्रममा बेपत्ता भएका दमाई दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा २०० मिटर दक्षिण नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ । उक्त शव आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।






































