बाजुरा । मानिसका लागि कुनै पनि पेशा वा व्यवसाय सानो–ठूलो हुँदैन् । सानो पेशाबाटै ठूलो आम्दानी गर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । मान्छेमा इच्छाशक्ति र कर्म गर्ने अठोट भए स्वदेशमै रोजगारीका पाटाहरु धेरै भेटिन्छन् । 

व्यक्तिको सफलता, उसको इच्छाशक्ति र कर्ममा भर पर्छ । कर्म र इच्छाशक्तिले व्यक्तिको जीवन बदल्छ । जसबाट नयाँ उर्जा, उत्साह प्राप्त हुन्छ । हरेक सीप, अनुभव र योग्यता बटुल्ने काम व्यक्तिको इच्छाशक्तिले गर्छ । इच्छाशक्तिले व्यक्तिको जीवनमा नौलो परिवर्तन ल्याउन मद्दत गर्छ ।

बाजुरा जस्तो विकट, सेवा सुविधाबाट प्रताडित र अनगिन्ती समस्या र कठिनाइका बिच हातमा क्यामरा समातेर कुशल कर्मशिलताको ज्वलन्त उदाहरण बनेका छन्,बाजुराका जीवन सार्की । सार्की समुदायका युवा जसले हातमा क्यामरा समातेर फोटो खिच्दै आफ्नो मात्रै हाइन् सिंगो समूदायको पहिचान स्थापित गराएका छन् । 

नाम जस्तै जीवनमा परिवर्तन ल्याउन उनले इच्छाशक्तिका साथ मेहेनत र संघर्ष गरेका छन् । बाजुराको जगन्नाथ गाउँपालिका–६ बैशारुख घर भएका उनको हाल सदरमुकाम मार्तडीमा बसोबास छ । 

सामान्य परिवारमा जन्मेका जीवनको संर्घष र प्रेरणाको कथा छुट्टै छ । सपनाभित्र झिलिमिलि बनेको इच्छा चाहना उनले नकार्न सकेनन् ।  उनको इच्छाचाहना र कर्मले अहिले उनको दैनिकी क्यामरासँग जोडिएको छ । २६ बर्ष टेकेका उनी बाजुरा क्याम्पसमा अध्ययनरत छन् । ब्याचलर पूरा गरि मास्टर भर्नाको तयारीमा छन् । 

तर अध्ययन भन्दा पनि उनको दैनिकी क्यामरासँग जोडिएको छ । तर पढाइ भने छाडेका छैनन् । पढाई संगसंगै आत्मनिर्भर हुन उनले २०७५ मा मार्तडीमा ‘ए वान’ फोटो स्टुडियो सञ्चालनमा ल्याए । जुन स्टुडियोबाट फोटा खिच्ने, फोटोकपी गर्नेलगायत अनलाइन सम्बन्धी काममा दैनिकी चल्यो । 

आमाबुबा, भाईहरु र साथमा जीवन संगीनी एवं छोराको लालनपालन सम्पूर्ण घरपरिवार धान्ने उनको काँधमा थियो । सानो स्टुडियोबाट सबै घरपरिवार धान्न उनलाई निकै अप्ठ्यारो पर्यो । उनले केही नयाँ विकल्पका साथ अघि बढ्न सोच बनाए । अहिलेको प्रविधिको युगमा मानिसहरु नयाँ ठाउँ घुम्ने, फोटो खिच्ने, टिकटक, रिल बनाउने प्रबृतिको हावी छ। 

यहि अवस्थालाई मध्यनजर गरेर जीवनले मार्तडीमा फोटो सुट गर्ने कुनै ठाउँ बनाउने योजना बनाए । दृढ इच्छाशक्तिका साथ उनले विभिन्न ठाउँमा गएर फोटो सुट गर्न थाले । फोटा खिचेर आम्दानी गर्न सकिन्छ भन्ने जानकारी पश्चात् उनले यो विधि अपनाए । तर यसबाट पनि उनी खासै सन्तुष्ट भएनन् । अनेकथरी बाधा, अड्चन आउँन थाले।

तर हार नमानेर उनी दृढ संकल्पका साथ अघि बढे । उनले व्यवसायिक रुपमा फोटा खिचेर केही आम्दानी गर्नुपर्छ भनेर आफ्नै लगानीमा बडीमालिका नगरपालिका नजिकै जग्गा भाडामा लगे । जहाँ उनले फोटो सुट गर्ने ठाउँ बनाए ।

अहिले उक्त ठाउँमा दिनहुँ एक सय बढिको फोटो खिच्न युवायुवतीहरु आउने गरेका छन्। फोटो खिचेर संकलन गरेकै रकमबाट मासिक पाँच हजार जग्गा भाडा लगायत दैनिक खानपिन र  घर खर्च चल्ने गरेको जीवन बताउँछन् ।

सुरुमा सबैले अवहेलना गरेकोमा अहिले सबैले प्रेरणा गर्न थालेको सार्कीको भनाइ छ । उनले भने, ‘फोटो खिचेको पच्चिस र भिडियोको साठ्ठी रुपैंयाँसम्म लिने गरेको छु । जसबाट दैनिक पन्ध्र सय देखि न्यूनतम दुई हजार हुने गर्छ । सिजनको समयमा दिनको पाँच हजारसम्म कमाइ हुने गरेको छ ।’ 

मेला महोत्सव तथा कुनै पर्वमा राम्रो कमाई हुने गरेको सार्कीको भनाई छ । उनले मासिक न्यूनतम ५० लेखि ६० हजार कमाई हुने गरेको दाबी गरे । जसबाट उनले भाइलाई काठमाडौंमा पढाइ रहेका छन् । श्रीमती र छोरालाई समेत पढाउँदै आफू पनि पढिरहेका छन् । क्यामरा नै अहिले जीवनको साहारा बनेको उनको भनाइ छ । 

गर्न खोज्यो भने हरेक चिज नेपालमै सम्भव रहेको बताउँदै जीवनले सर्वप्रथम आफ्नो इच्छाशक्ति र कर्ममा जोड दिन आवश्यक रहेको बताए । सम्पूर्ण युवाहरुलाई विदेश पलायन हुनुभन्दा पनि आफ्नै माटोमा केही गर्ने अठोटका साथ लाग्न उनी प्रेरित गर्छन् । आफू आफ्नो ठाउँमै बसेर केही गर्छु भन्ने उदेश्यले यस्तो पेशा अगाँलेको उनले बताए । 

जीवनले मार्तडीमा सञ्चालन गरेको ‘नमस्ते ढोगदियामा’ फोटो खिच्नेको लर्काे लाग्ने गरेको छ । उनी कहिले विरेखोला, कहिले वरपरका डाँडाकाडा तथा बजारमै बसेर फोटो सुट गर्ने गरेका छन् । ‘नमस्ते ढोगदियामा’ स–साना बालबालिकादेखि बुढापाखाहरु पनि खिच्न आउने गरेको उनको भनाइ छ । १० बर्षदेखि ६० बर्षसम्मका व्यक्तिहरु स्टुडियोमा छिरेर फोटा खिचाउने गरेको जीवनको भनाई छ । 

उनको त्यो सानो पेशा अहिले चुलिएको छ । उनको व्यवसायले कर्मशिलताको पाठ सिकाएको छ । स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने कुरा उनको व्यवसायले दर्साउछ । खाली बसिरहेका युवाहरुले उनबाट पाठ सिक्नुर्ने देखिन्छ । रोजगारीका अवसर छैनन्,भन्नेहरुले यस्तै अन्य कुनै पेशा, व्यवसाय सञ्चालन गर्न जरूरी रहेको जीवन बताउँछन् । 

अरुको कुरा काटेर दिनभर बरालिएर हिड्नेहरुलाई आफ्नै ठाउँमा केही व्यवसाय गरेर कर्मशिल बन्न उनी सुझाव दिन्छन । उनी भन्छन् ‘देशमा रोजगारीका अवसर छैनन्,भन्न मिल्दैन् । तर कर्म गर्न आवश्यक छ । मान्छे सानो पेशा गर्न लजाउँछन्। तर सानो पेशाबाट पनि सबै सामु प्रेरणात्मक र उदाहरणीय बन्न सकिदाँ रहेछ ।’