काठमाण्डौ  । तिहारको मूख्य दिन भाइटीकामा दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टीका लगाइनेदिने प्रचलन छ । तेलमा भिजाइएका सप्तरंगी टिका लगाउने प्रचलन परम्परादेखि नै चल्दै आएको छ ।

त्यसो त शास्त्रमा तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँच प्रकारको भनिएको छ ।

तिहारमा सात प्रकारका रंगको टीका लगाउने कि पाँच प्रकारको भन्नेमा शास्त्र र सँस्कृतिका जानकारहरुको मत बाझिएको बताइन्छ । यद्धपी रंग र महत्व भने बैज्ञानिक रहेको छ । टिकाका रंगहरुले प्रकृतीक इन्द्रेणी समेत झल्काउछ ।

सप्तरंग सूर्यको सात रगंको प्रतीक हो, जो इन्द्रेणीमा पनि देखिन्छ । सूर्य भन्या सौर्य मण्डलको अधिपति हो । अनि सौर्य शक्तिको आराधनाद्वारा शरीर र मनलाई पुनर्ताजगीको लागि सप्तरंगी टीका लगाइएको हो । सबै शक्ति तिमीमै केन्द्रित होस् भन्ने अर्थमा भाइटीकामा दिदीबहिनीले सप्तरंगी टीका लगाउने गरिएको प्राज्ञ जगमान गुरुङ बताउनुहुन्छ । सप्तरंगी टीका लगाइदिनाले दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ।

कुन रंगको के अर्थ ?

रातो रंग

रातो रंगको वैदिक अवस्था रजोगुण हो । मंगल र सूर्यको राशिगत रंग रातो हुन्छ । यो रंग युद्ध, क्रोधको प्रतीक पनि हो। गुलाफको फूलमा भएको रंगलाई चाहिँ प्रेमको प्रतीकका रूपमा लिइन्छ । स्थान र परम्पराका आधारमा यो निषेधात्मक संकेतका रूपमा लिइन्छ भने सफलताको प्रतीकका रूपमा पनि लिइन्छ।

सेतो रंग

सात्विक स्वरूपका रूपमा सेतो रंगलाई लिइन्छ । सत्व भनेको शान्ति, निर्मल, पवित्र, आयु, आरोग्यको संकेत हो । चन्द्रमा र शुक्रलाई सत्व स्वरूपको मानिन्छ । यसले अन्य रंगलाई निषेध गर्दछ । अन्य रंगलाई प्रतिस्थापन गर्न यो सक्षम रहन्छ।

पहेंलो रंग

यो रंग पनि प्रेमभावको प्रतीक नै हो । सात्विक आहारविहार, स्वच्छन्दताका रूपमा पनि यसलाई लिइन्छ ।

नीलो रंग

यो नीलो रंग विशालता, गाम्भीर्य, स्निग्धताको प्रतीकका रूपमा लिइन्छ । केतु र राहुले यसमा विशेष प्रभाव पार्ने मानिन्छ। यो आकाशको रंग पनि हो । यसलाई समन्वय र शान्तिको प्रतिविम्ब पनि मानिन्छ।

हरियो रंग

यो प्राकृतिक रंग हो । अन्य रंगभन्दा शान्त, प्रमाणहीन, कमकान्तिवाला रंगलाई नै हरियो रङ मानिन्छ । यो रंग शान्तिदायक, निर्मल, सहनशील हुन्छ । यो रंग आनन्ददायक हुन्छ।

कालो रंग

तमोगुण अर्थात् अज्ञान, अन्धकारका रूपमा कालो रंगलाई लिइन्छ । तापक्रम र उज्यालोलाई यस रंगले शोषण गर्दछ । अज्ञान, अराजक, असफलता आदिको संकेतका रूपमा कालो रङले संकेत गर्दछ ।