काठमाडौं — कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक तथा निर्माता विशाल भण्डारीले आफूलाई एक गैरआवासीय नेपाली (एनआरएन) साझेदारबाट आर्थिक तथा मानसिक रूपमा दुःख दिइएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको माग गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भण्डारीले लामो स्टाटस लेख्दै आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनले एक एनआरएन साझेदारले सम्झौताविपरीत पैसा माग्दै, पहुँचको दुरुपयोग गर्दै आफूलाई मानसिक तनावमा राखेको बताएका छन्।
भण्डारीका अनुसार करिब १९ महिनाअघि ती एनआरएन साझेदारले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने र ३० प्रतिशत सेयर लिने सर्तमा उनीहरूको प्रोडक्सन कम्पनी थ्री प्रोडक्सन प्रा.लि. मा प्रवेश गरेका थिए। सुरुमा ‘कमेडी च्याम्पियन’ सिजन ३ का लागि डेढ करोड तत्काल दिन सहमति भए पनि पछि २ करोड १५ लाखको चेक भण्डारीसँग लिइएको उनले बताएका छन्।
तर साझेदारले सम्झौताविपरीत पैसा फिर्ता माग्दै बैंकिङ कसुरको मुद्दा दायर गरेका र त्यसकै आधारमा २ करोड ४० लाख असुलेको भण्डारीको आरोप छ। उनले ती साझेदारले "राज्य प्रशासनमा आफ्नो पहुँच छ" भन्दै धम्क्याउने, खाता रोक्ने मुद्दा हाल्ने, कार्यक्रम रोक्ने प्रयास गर्नेजस्ता गतिविधि गर्दै आएको दाबी गरेका छन्।
भण्डारीले कम्पनीका अन्य सेयरधनीहरूले अहिले जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा मुद्दा दायर गरिसकेको जानकारी पनि स्टाटसमा उल्लेख गरेका छन्। साझेदारले कम्पनी छोड्न मानेको छैन, मिलापत्र गर्न नआएको र उल्टै मुद्दाको पेसी सार्न लगाएर काममा बाधा पुर्याइरहेको आरोप छ।
भण्डारीले यो विषयमा प्रधानमन्त्रीको सचिवालय र ‘हेलो सरकार’मा जानकारी गराइसकेको तर कुनै प्रतिक्रिया नआएको गुनासो पनि गरेका छन्। यो प्रकरणमा १०० जनाभन्दा बढीको भविष्य, रोजगार र दैनिक जीवन प्रभावित भएको बताउँदै उनले सरकारसँग प्रश्न गरेका छन्, “अब अति भयो। सरकार र कानुन छ भने म र मेरो टिमलाई न्याय चाहिएको छ।”
उनले अन्त्यमा लेखेका छन्, “हामी यही देशमा बसेर नेपाली दर्शकलाई हँसाउन चाहन्छौं, तर कानुनी कमजोरीको आडमा भइरहेको यो दुर्व्यवहार अब सहन सकिने अवस्था छैन।”