काठमाडौं – नेपालमा लागुऔषध तस्करीमा भारतीय नागरिकहरूको संलग्नता बढ्दै गएको देखिएको छ। पछिल्ला दिनमा थाइल्यान्ड, अजरबैजान लगायत विभिन्न मुलुकबाट लागुऔषध बोकेर नेपाल आएका भारतीय नागरिकहरू क्रमशः पक्राउ परिरहेका छन्।

थाइल्यान्डको बैंककबाट एयर एसियाको उडानमार्फत काठमाडौं आएकी ३० वर्षीया भारतीय महिला लियाओन फुङथरलाई प्रहरीले ५ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। उनी भारतको मणिपुर राज्यकी हुन्।

गाँजा र कोकिन तस्करीमा संलग्न एक भारतीय नागरिक अमरजित सिंह सन्धु (६४), नयाँ दिल्ली निवासी, लैनचौरस्थित एक होटलबाट पक्राउ परेका छन्। उनी यस गिरोहका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।

सन्धुको नाम, गत जेठ ८ मा बैंकक हुँदै कोलम्बो हुँदै काठमाडौं आएका कपिल भारद्धाजसहित दुई भारतीय नागरिकको बयानपछि खुलेको हो। उनीहरूबाट प्रहरीले १८ किलो गाँजा र २.६५ ग्राम कोकिन बरामद गरेको थियो।

महाराष्ट्र, मुम्बईका ४९ वर्षीय अब्दुस समाद जामिल मन्सुरीलाई प्रहरीले ३.४ किलो कोकिनसहित असार २७ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गर्‍यो।

अजरबैजानबाट ल्याइएको कोकिनलाई उनले पिठोझैँ प्लास्टिकमा पोको पारेर बोकेको पाइएको छ। प्रारम्भिक बयानमा मन्सुरीले आफूलाई त्यो झोला एक व्यक्तिले भारतसम्म पु¥याउन दिएको बताए। प्रहरीले अनुमान गरेको छ कि उक्त कोकिन भारतीय बजारमा बिक्री गर्ने योजना थियो।

असार २२ गते, थाई एयरवेयजको उडानबाट काठमाडौं आएका राकेश ओहाव नामक ६५ वर्षीय भारतीय नागरिकलाई प्रहरीले विमानस्थलमै पक्राउ गरेको हो। उनको लगेजमा ६.५ किलो सेतो हिरोइन लुकाइएको अवस्थामा फेला परेको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार, पछिल्लो समय नेपाल हुँदै तेस्रो देशमा लागुऔषध लैजाने प्रवृत्ति बढ्दै गएको छ। उनका अनुसार, विदेशी नागरिकहरू विशेषगरी भरियाको रूपमा प्रयोग गरिन्छन्, र भारतका नागरिकहरूको संलग्नता उल्लेख्य रूपमा बढेको छ।