काठमाडौँ – शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्ता बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ।
नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र अतिक्रमण गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य ठहर गर्नुपर्ने र शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पसमा विरोध कार्यक्रमहरू गरिरहेको छ। अहिले मीनभवन क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।
यसअघि कोटेश्वरमा टायर बालेर सडक अवरुद्ध गर्न खोज्दा ४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।