काठमाडौं –"नयाँ नेपालमा व्यवसाय गर्न सजिलो छैन!" यही सन्देश बोकेर आज राजधानी काठमाडौंको सडकमा सुनचाँदी व्यवसायी र कालिगढहरू उत्रिए। करको अन्यायपूर्ण भारविरुद्ध आवाज उठाउँदै नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघ को अगुवाइमा र्‍यालीसहित कोणसभा कार्यक्रम सम्पन्न भयो।

व्यवसायीहरूको प्रमुख मागहरूमध्ये, हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनमा लगाइएको २ प्रतिशत विलासी कर हटाइनुपर्ने माग सर्वप्रमुख छन्। उनीहरूको भनाइमा, यी करहरूले व्यवसाय तहस–नहस बनाएको छ, साना व्यापारीहरू मर्कामा परेका छन्, र कालिगढहरूको रोजीरोटी संकटमा छ।

"सरकार हामीलाई विलासी देख्छ, तर हामी त पसिना बगाउने श्रमिक हौं!" – आन्दोलनमा सहभागी एक व्यवसायीको चित्कारले राज्यको दृष्टिकोणप्रति गहिरो प्रश्न उठाएको छ।

यसैबीच, भक्तपुरका सुनचाँदी व्यवसायीहरूले पनि सिठी जुलुससहित विरोध प्रदर्शन गर्दै ऐक्यबद्धता जनाएका छन्। जनताको गहना बनाउने हातले आज आफ्ना अधिकारको गहना मागिरहेका छन्।